सलहले बाली नष्ट गरेपछि किसान चिन्तित

कर्णाली। सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्याएपछि चिन्तित छन् ।

बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् ।

सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पु¥याएको किसानको दाबी छ । भेरीगङ्गा १३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाएको मकैबाली सलहले क्षति गरेको बताए ।

“कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन्, लगाएको बाली सलहले खाइदियो,” उनले गुनासो गरे, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ ।” सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाएको बालीमा सलहले क्षति गरेको छ ।

रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ । तर लकडाउनले आँप बिक्रीमा समस्या भएको किसानको गुनासो छ । “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, नरबहादुरले भने ।

स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ । सलहले बालीमा क्षति पुर्याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिन अघि स्थलगत अवलोकन गरेको थियो ।

मन्त्री आफै खेतबारीमा आएर क्षतिको अवस्था बुझेर फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलहका झुण्ड देखिएका थिए ।

प्रतिकूल मौसमका कारण सानो–सानो झुण्डमा सलह देखिने गरेका छन् । सलहले क्षति पुर्याउनसक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पुर्याएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन, चिङ्गाड गाउँपालिकाको केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह देखापरेको छैन । पूर्वी सुर्खेतमा जस्तै अन्य जिल्लामा ठूलो सङ्ख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसान चिन्तित छन् । सलह कीराले मकै, धान, कोदो र तरकारी नष्ट गरेको किसानको गुनासो छ । यद्यपि, क्षतिको यकिन विवरण भने सङ्कलन भइसकेको छैन् ।

एकीकृत कृषि प्रयोगशालाका बाली सङ्रक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताए । उनका अनुसार हालसम्म दैलेखमा १९० हेक्टरमा लगाइएको मकै, कोदो लगायतको बालीमा सलहले क्षति पुर्याएको छ ।

दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पुर्याएको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोट लगायतका जिल्लामा पनि सलहले क्षति गरेको छ । रासस

के हो सलह किरा ?

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments