जताततै फौजी किराको आतङ्क, विषादी अभाव

खोटाङ: अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले जिल्लाका किसान चिन्तित बनेका छन्। अघिल्लो वर्ष केही नगरपालिका र गाउँपालिकामा मात्र देखिएको फौजी किराको प्रकोप यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो।

गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिकाको ११ वटै वडा तथा आसपासका केही स्थानीय तहमा देखापरेको फौजी किराको प्रकोप यस वर्ष १०वटै स्थानीय तहका बेँसीक्षेत्रमा लगाइएको मकै सखाप पार्न थालेको किसानले बताएका छन्। तीन÷चार पात पलाउँदादेखि नै फौजी किराले मकैको बिरुवालाई आक्रमण गरेपछि किसान चिन्तित बनेका छन्।

प्रकोप देखिएको क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फैलिने गरेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए। “उपचार गरेको ठाउँमा फौजी किरा नियन्त्रणमा आएको देखिन्छ तर, नयाँ ठाउँमा देखा पर्दै आएकाले समस्या सिर्जना भएको छ”, उनले भने, “जिल्लाभरका किसानको अन्नबालीमा प्रकोपका रूपमा फैलिएको फौजी किराको आतङ्क रोक्न सम्बन्धित स्थानीय तहसँग सहकार्य शुरु गरिएको छ।”

गत वर्ष सबैभन्दा बढी क्षति पुगेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष पनि मकै छर्नेबित्तिकै फौजी किराको प्रकोप देखिएको किसानले बताएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, लफ्याङ, दिक्तेल, सोल्मा, खार्मी, पाथेका, नुनथला, जालपालगायत वडा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडाको बेँसीक्षेत्र, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, खोटाङबजार, सिम्पानी, लिच्कीराम्चेको तल्लो क्षेत्र, ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे, महेश्वरी, माक्पालगायत वडामा फौजी किराको प्रकोप फैलिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत वर्ष अन्तिम समयमा देखिएको फौजी किराको प्रकोप यस वर्ष रावाबेँसी गाउँपालिकामा खेतीपाती शुरु गरेलगत्तै फैलिएको वडा नं ३ चिउरीवासका स्थानीय बासिन्दा वीरेन्द्र मगरले बताए। “प्रकोप देखिनासाथ गाउँपालिकाले कोबेरा नामक विषादी उपलब्ध गराएको थियो”, उनले भने, “गाउँपालिकाले उपलब्ध गराएको विषादीले नपुगेपछि खरिद गर्न खोज्दा बजारमै पाउन छाडिएको छ।”

जताततै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किरा नियन्त्रण गर्न स्थानीय तहले आ–आफ्नै प्रयास शुरु गरेका छन्। अधिकांश स्थानीय तहमा किटनाशक विषादी ल्याएर कृषि प्राविधिकमार्फत सङ्क्रमित क्षेत्रको मकैमा छर्कने काम भइरहेको पाइएको छ। जिल्लाका कतिपय स्थानीय तहले किसानलाई विषादि निःशुल्क उपलब्ध गराएको छ। कृषि ज्ञान केन्द्रले पनि स्थानीय तहमार्फत किसानलाई आवश्यक विषादी निःशुल्क उपलब्ध गराउने गरिएको निमित्त प्रमुख राईले बताए।

गाउँपालिकाको तर्फबाट विषादी ल्याएर कृषि प्राविधिक अध्ययन गरेका स्थानीय व्यक्तिलाई पाँच दिन परिचालन गरेर फौजी किरा नियन्त्रणको प्रयास गरिरहेको गाउँपालिका प्रमुख प्रदीप राईले बताए। “कृषि पढेर आएका व्यक्तिलाई स्रोत परिचालन शीर्षकबाट पाँच दिन विषादी छर्कने काममा लगाएका छौँ”, उनले भने, “गाउँपालिकाबाट परिचालित उनीहरु बढी प्रभावित क्षेत्रमा गएर किसानको सहयोगमा मकैको बिरुवामा विषादी हाल्छन्, हाल्न सिकाउँछन् र विषादी दिएर फर्कन्छन्।”

ऐसेलुखर्क गाउँपालिकाले पनि आफैँले तालिम दिएर तयार पारेको कृषि स्रोत व्यक्तिलाई फौजी किरा नियन्त्रणमा उपयोग गरिरहेको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए। जिल्लाका अन्य स्थानीय तहले पनि निःशुल्क तथा सःशुल्क विषादी उपलब्ध गराएर नियन्त्रण गर्ने प्रयास गरिहेको पाइएको छ। रातको समयमा बढी सक्रिया हुने फौजी किराले अन्नबालीसँगै आसपासको वनजङ्गलमा पाइने पापतिङ्गरसमेत सखाप पार्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन्। फौजी किरा साँझ परेपछि मात्र सक्रिय हुने भएकाले त्यही बेला अन्नबालीमा विषादी छर्कनु उपयुक्त हुने कृषि प्राविधिकको सुझाव छ।
रासस

हेरौ पहिचान र रोकथामको उपाय:

के हो फौजी किरा ? पहिचान र रोकथामको उपाय

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments