नेपालमा कृषि

तपाइलाई कृषि सूचनामा स्वागत छ !!!

नेपाल कृषिप्रधान मुलुक हो। नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ। परम्परागत कृषि प्रणालीका कारण नेपालको कृषि क्षेत्र सोचेजस्तो प्रगतिको बाटोमा लम्किन सकिरहेको छैन। तराई क्षेत्रका यदाकदा स्थानमा खनजोतका लागि ट्याक्टर र सिँचाइका लागि जेनेरेटरको प्रयोग गर्न शुरू गरे पनि व्यावसायिकरुपमा कृषिमा लाग्नेको संख्या अहिले पनि नगन्य मात्रामा छ। कृषिप्रधान देशको रुपमा चिनिदै आएको नेपालमा कृषकहरूले अहिले पनि चाहिए जति प्रविधिको अनुभव गर्न पाएका छैनन्।

देशको करीब दुई तिहाई जनसंख्याको जिबिकोपार्जनसँग जोडीएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडी परिराखेको छ।
कृषि क्षेत्रको आधुनिकिकरण सरकारको निति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सिमित छ। बिगतको तथ्यांकलाई हेर्ने हो भने कृषि क्षेत्र प्रत्येक बर्ष ओरालो लाग्ने क्रममा छ, ठुलो संख्यामा युवाहरु कामको खोजीमा बिदेशिएका छन्, धेरै परिवारहरु बसाईसराई गरेका छन्, अधिकांश आकासको भरमा रोपाई हुने जमिनहरु बाँझिने क्रममा छन्।

सरकारको सहि कृषि निति, निति अनुसारको बजेट, नितिलाई हासिल गर्ने योजना, सहि कार्यान्वयन र नियमित अनुगमनले मात्र कृषि पेशालाई सम्मानित र सफल बनाउन सक्दछ। हाम्रा कतिपय कृषि नितिहरु अत्यन्त राम्रा बन्ने गरेता पनि फितलो कार्यान्वयनले गर्दा कृषि क्षेत्रले सफलता हासील गर्न सकेको देखिदैन।

स्थानिय तहमा कम्तिमा एउटा भरपर्दो कृषि संकलन केन्द्र र जिल्लामा एउटा संकलन, ग्रेडिङ तथा प्याकेजिङ केन्द्र स्थापना गर्न ढिला गर्नु हुँदैन। उपभोगको लागी आबश्यक बजारमा बिक्रिको लागि पठाउने र बाँकि प्रशोधन तथा कृषिजन्य उद्योगमा पठाउने गरी प्रशोधन तथा कृषि उद्योगको सम्भाबनाहरुको खोजी गर्नु पर्दछ।

स्थानिय स्तरमा उत्पादन हुने कृषि उत्पादनको सिजन अनुसारको बालीको उचित मुल्य तोक्ने र जिल्लामा आबश्यक कृषि उपज जिल्लामा उत्पादन गर्ने गरी योजना निर्माण गर्न सकिन्छ। देश कृषिमा आत्मनिर्भर हुन पहिला परिवार, समाज, स्थानिय तह, जिल्ला, प्रदेश आत्मनिर्भर हुनु जरुरी छ। देश कृषिमा आत्मनिर्भर हुन उत्पादक, बिक्रेता र उपभोक्ताले स्थानिय उत्पादनलाई प्राथमिकता दिनु जरुरी छ।

परम्परागत तरीका र मानसिकताले काम गरेर कृषिमा आधुनिकिकरण सम्भब छैन। निति तथा कार्यक्रम पानामा लेखेर मात्र पनि कृषिमा आधुनिकता र ब्यबसायिकरण हुन सक्दैन। कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न कृषिमा आश्रित जनसख्या घटाउने, युवा पुस्तालाई यो क्षेत्रमा ल्याउन युवा जनशक्ति निर्माण गर्ने, कृषि कर्जा सरल र सहज बनाउने, कृषि उपजको सुरक्षाको प्रत्याभुति गर्ने, प्रबिधि तथा यन्त्रिकरणमा जोड दिने र बजारीकरणको सुनिश्चितता गर्न सक्नु पर्दछ।