खुला ठाउँमा दिसा गरेको पाइएमा ५ सय रुपैयाँ जरिवाना

वीरगञ्ज। छिपहर माई गाउँपालिका वडा नम्बर ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई २ सय ५० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

सो आचारसंहिताको बुँदा नम्बर ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा ५ सय रुपैयाँ जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो जरिवानाबाट २ सय ५० रुपैयाँ पुरस्कार दिने उल्लेख हो । ‘एक घर एक चर्पी, भिस्वावासीको शान, स्वच्छ जीवन वातावरण हामी सबैको स्वाभिमान’ भन्ने नारासहित छिपहरमाई गाउँपालिका वडा नम्बर ५ ले जारी गरेको १३ बुँदे सरसफाइसम्बन्धी आचारसंहितामा ‘सधैं चर्पीमा दिसापिसाब गर्नेछु, बाहिर खुल्ला ठाउँमा दिसापिसाब गर्ने छैन घरको चर्पीलाई नियमित सफाइ गर्नेछु, वडाभित्रका सबै विद्यालय घर कार्यालयमा चर्पी राख्नेछु, वडालाई दिसामुक्त क्षेत्र कायम गरी पूर्ण सफाइ गर्ने’ जस्ता प्रतिबद्धतासहित सो आचारसंहिता जारी गरिएको हो ।

६ सय ७२ घरधुरी तथा करीब १० हजार जनसंख्या रहेको सो वडालाई पूर्ण सरसफाइका लागि वार्षिक बजेट विनियोजन गर्नुका साथै खुला दिसामुक्त कार्यक्रमका लागि प्रभावकारीरुपमा अगाडि बढाइने छ भन्दै उक्त गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले भने, ‘आजको बालबालिका भोलिको कर्णधार भएकाले सरसफाइप्रति सबै सजक हुनुपर्छ ।’

उक्त गाउँपालिका वडा नम्बर ५ भिस्वागाउँ पर्सा जिल्लाको ४९ औं खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप घोषणा गरिएको छ । हालसम्म जिल्लाको ५ वटा स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् ।

महिला चेलिबेटीहरु खुला ठाउँमा दिसापिसाब गर्न जाँदा बलात्कार तथा हिंसाको शिकार हुनुपरेकाले सबैले आ–आफ्नो घरमा चर्पी प्रयोग गरी यस्ता हिंसाबाट बच्न सक्ने छन् भन्दै वडाध्यक्ष असलम आलमले आ–आफ्नो घरमा चर्पी नबनाउनेलाई स्थानीय तहको सुविधाबाट वञ्चित गरिने जानकारी दिए ।

ग्रामीण क्षेत्रलाई धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा गरिँदै आएपनि सडक पेटीका मुख्य स्थानमा सार्वजनिक शौचालय नभएकाले बाटो हिँड्ने बटुवाले सास्ती भोग्दै आइरहेका छन् । चर्पी नै नभएको ठाउँलाई दिसामुक्त क्षेत्र घोषणा गर्नु जायज नभएको भन्दै बाटो हिँड्ने बटुवाले सार्वजनिक शौचालय नबनाएर कागजी भरमा दिसामुक्त क्षेत्र घोषणा गर्नु जनप्रतिनिधिको अकर्मण्यता भएको स्थानीयवासीको टिप्पणी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments