मरिच बिक्री नहुँदा किसान मारमा

भद्रपुर, ९ साउन
तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् ।

अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ । सुपारीको बोटमा लहराएर फल्ने भएकाले मरिचको खेतीलाई ‘परजीवी खेती’समेत भनिन्छ ।

गतवर्ष प्रतिकिलो मरिच रु एक हजार ६ सयमा घरबाटै बिक्री भएको थियो । यसवर्ष रु चार सयमा समेत बिक्री नभएको अर्जुनधारा–१० का दिनबन्धु पोखरेलले बताउनुभयो । “मैले यसपाली छ सय किलो मरिच उत्पादन गरेको छु’, उहाँले भन्नुभयो–“तस्करी गर्न तेस्रो मुलुकबाट आयात गरिएको मरिचका कारण हाम्रो उत्पादन बिकेन ।”

बुद्धशान्ति गाउँपालिका–७ का योगेश निरौलाको पीडा पनि उस्तै छ । उहाँ तेस्रो मुलुकबाट मरिचको आयातमा प्रतिबन्ध लगाएमात्रै स्थानीय किसानको उत्पादनले उचित मूल्य पाउने बताउनुहुन्छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाले आव २०७४/७५ मा ९६ हजार ८०० किलो मरिच आयात भएको थियो । भन्सार प्रमुख टेकबहादुर अर्यालका अनुसार इन्डोनेसिया, श्रीलंकालगायत तेस्रो मुलुकबाट मरिच आयात गरिँदै आएको छ । यसरी आयात गरिएको मरिच तस्करी गरी भारतमा बिक्री हुने गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले तीन दिनअघि मेचीनगर—६ भान्सा खोलाबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको ५०० किलोभन्दा बढी मरिच बरामद गरेको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments