बजेट सिध्याउन १/१ किलो मल वितरण

वीरगन्ज : पर्साको बहुदरमाई नगरपालिकाले बजेट सिध्याउन हरेक मतदाताको भागमा पर्ने गरी रासायनिक मल वितरण गरेको पाइएको छ। प्रत्येक कार्यकर्ताको भागमा पर्ने गरी एक/एक किलो रासायनिक मल जिंक वितरण गरिएको जनाइएको छ।

प्रत्येक वडामा वडाध्यक्षले आफ्ना आसेपासेलाई रासायनिक मल वितरण गरेको असन्तुष्ट पक्षको गुनासो छ। नगरपालिकाको कृषि शाखाले गत आर्थिक वर्षको बजेटबाट रासायनिक मल वितरण गरेको हो। कृषि शीर्षकमा रहेका साना योजनाअन्तर्गतका बजेट खर्च हुन नसकेपछि यस्तो कार्यक्रम सञ्चालन गरिएको कृषि शाखाका प्राविधिक सहायक महेन्द्र कुशवाहाले बताए। उनका अनुसार रासायनिक मल नगरपालिकाको निर्णयअनुसार नै वितरण गरिएको हो।

विकासे धान, मुंगको दाल, अन्य धानका बीउसहित कृषि शीर्षकमा रहेको बजेट खर्च हुन नसकेपछि त्यसको साटो मल वितरण गरिएको नगरपालिकाले जनाएको छ। उनका अनुसार गत आवमा नगरपालिकाको बैठकले यस्ता योजनालाई विषादी छर्ने ट्यांकी र मल वितरण गर्ने निर्णय गरेको थियो। त्यही निर्णयबमोजिम मल वितरण गरिएको उनले सुनाए।

कृषिको १८ लाख बजेट मल र ट्यांकीमा खर्च भएको छ। ९ लाखको मल र ९ लाखको विषादी छर्ने ट्यांकी खरिद गरिएको उनले बताए। ‘अहिले ९ लाख रुपैयाँबराबरको रासायनिक मल मात्र बाँडिएको छ’, उनले भने, ‘ट्यांकी खरिद गरिए पनि वितरण गरिएको छैन।’

उनका अनुसार खरिद गरिएको ७ हजार ५ सय किलो मलमध्ये ६ हजार ५ सय किलो वितरण गरिएको छ। प्रत्येक वडामा ७ सय किलोभन्दा बढी पर्ने गरी मल वितरण गरिएको उनले सुनाए। बहुदरमाईमा नौ वडा छन्। एउटा वडामा साट क्विन्टल मल दिँदा संख्यात्मक हिसाबले ७ सय प्याकेट पुग्न जान्छ। जबकि एउटा वडामा १ हजार ५ सयभन्दा बढी मतदाता रहेको जनाइएको छ।

वडा नम्बर ७ मा प्रत्येक मतदातालाई १/१ किलो पर्ने गरी बाँडिएको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष प्रभु पटेलका अनुसार वडामा करिब २ हजार मतदाता छन्। भागबन्डा गरी मल बाँड्दा अपुग भएको उनको भनाइ छ।

ढुवानीसहितको मूल्य १ सय २० रुपैयाँ राखिएको कुशवाहाले बताए। उनका अनुसार जिंकले फसलको उत्पादकत्व वृद्धि गर्छ। एक किलो जिंकले चार कट्ठामा लगाइएको फसल धान्छ। नगरपालिकाले उपलब्ध गराएको जिंकले चार कट्ठाको फसल मात्र पुग्ने भएकाले पाउने किसानसमेत सन्तुष्ट हुन सकेका छैनन्। दुई बिघा जमिन भएका वडा नम्बर ९ का हासिम अन्सारीले नगरपालिकाले किसानको मजाक उडाएको गुनासो गरे। सबै किसानलाई मल उपलब्ध गराएको भनिए पनि आफूले नपाएको उनको भनाइ छ।

नगरपालिकाले असार मसान्तमा हेरक वडालाई ९०/९० वटा फलफूलका बिरुवा पनि वितरण गरेको थियो। ७० हजार रुपैयाँ लागतमा फलफूलका बिरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ। वडाध्यक्षले आफ्ना कार्यकर्तालाई बिरुवा उपलब्ध गराएको स्थानीयको आरोप छ।

वडा नम्बर ९ का सदस्य महम्मद फकरोदिनले यो बजेट सिध्याउने तरिका मात्र भएको जिकिर गरे। वडा नम्बर ७ का सदस्य कुदिस देवानले पनि सोझो रूपमा बजेट सिध्याउने तरिका अपनाइएको बताए। बैरिया बिर्ताका युवा नेता मोती उरहमानले पनि मल आसेपासेलाई मात्र दिइएको आरोप लगाए।

मेयर नितेन्द्र साहले भने किसानलाई सुविधा दिइएको बताए। कृषि कार्यक्रमको बजेटअनुसार सबै वडालाई भाग लगाएर ७/७ क्विन्टल जिंक उपलब्ध गराइएको उनको भनाइ छ।

स्रोत :अन्नपुर्णपोस्ट
अलि असगर देवान

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments