धान सुपरजोनमा भने अहिले किसानलाई धान काट्न चटारो

झापा:
झापामा वर्षेधान भदौमा नै काट्न सुरु गरिएको छ । सामान्यतया वर्षे धान कातिक, मङ्सिरमा मात्र काटिँदै आएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत धान सुपरजोनमा भने अहिले किसानलाई धान काट्न चटारो पर्न थालेको छ ।

धान सुपरजोन क्षेत्र घोषणा भएका किसानहरूले धान दुई बाली मात्र नभएर तीन बालीसम्म रोप्न सकिने अवस्था देख्न थालेको बताएका छन् । यदि धान तीन बाली लगाएको अवस्थामा यो देशमा नै एउटा नयाँ कृषिको अध्याय सुरु हुने किसान अगुवाहरू बताउँछन् । अगुवा किसानसमेत रहनुभएका धान सुपरजोन सञ्चालक समितिका सहसचिव कन्यैलाल गणेशले यहाँ धानको तीन बाली लगाउन सकिने अवस्था आफूहरूले पाएको बताउनुभयो ।

भदौको पहिलो सातासम्म यहाँ किसानले गहिरो खेतमा खसिया बनाएर रोपेको स्मरण गर्दै आफूले डल्ले पुसा जातको धान भदौ १५ मा नै काटेकाले फेरि त्यो खेतमा धान लगाउने अवस्था देखेको बताउनुभयो । एकसाताअघि मैले धान रोपेको भए अर्को बाली लगाउने सकिने अहिले महसुस भएको छ गणेशले भन्नुभयो । उहाँले खेतमा दुई बाली धान र एक बाली बेमौसमी खेती गर्दै आउनुभएको छ । अब धान काटेको खेतमा मकै लगाउने बताउनुभयो ।

धान सुपरजोन प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाका अनुसार वर्षे धान बाली कटानी सुरु भएको हो । जेठ महिनामा रोपिएको धान किसानले काट्न थालेको उहाँले जनाउनुभयो । डल्ले पुसा जातको धान रोपेको ९० दिनमा नै पाक्ने भएकाले यो तयार भएर काटेको तिम्सिनाले बताउनुभयो । यसले यहाँका किसानलाई हौसला मिलेको उहाँको भनाइ छ ।

सघीनीकृत धान उत्पादन प्रणाली (एसआरआई)अन्तर्गत बीउ राखेको १५ दिनमा एक÷एकवटा बेर्ना लाइन मिलाएर रोपिन्छ । मेसिन नै प्रयोग गरेर गोडमेलसमेत गरिएको तिम्सिनाले बताउनुभयो । परम्परागत रूपमा गरिएको भन्दा यसबाट धेरै आम्दानी लिन सकिने तिम्सिनाको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग गरेर रोपिएको धानले उत्पादन बढ्ने र लागत कम हुने भएकाले तीन बाली धान लगाउँदा किसानले राम्रो आम्दानी लिन सक्छन् तिम्सिनाको भनाइ छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments