काँचो स्याउ भागबन्डा

मुगु — सोरु गाउँपालिका–६ स्थित सोरुकोट र बन्जाहा गाउँका स्थानीयले रुखमा स्याउ नपाक्दै टिपेर भागबन्डा गरेका छन् । कार्तिकमा स्याउ पाक्ने समय भए पनि चोरी हुने डरले भदौमै स्याउ टिपेर घरघरै भागबन्डा गरेका हुन् ।

चोर्न थालेपछि काँचो स्याउ टिपेर भागबन्डा गर्नुपरेको सोरुकोट गाउँका पदमबहादुर शाहीले बताए । सडक सुविधा नपुगेको हुँदा बारीमा उत्पादन हुने स्याउ खेर जाने गरेको उनले सुनाए । यो वर्ष अत्यधिक स्याउ फलेको हुँदा करिब दुई सय परिवारलाई प्रतिघर तीन क्विन्टल स्याउ भाग परेको उनको भनाइ छ । सोरुकोटका तीनवटा स्याउ बगैंचामा करिब १२ मेट्रिक टन स्याउ फल्ने गरेको छ । बजार अभावका कारण स्याउ घरभित्रै कुहिने गरेको स्थानीय भक्त मल्लले बताए ।

छायाँनाथ–रारा नगरपालिकाका स्थानीयले पनि रुखबाट काँचो स्याउ टिपेर गमगढी बजारमा बेच्ने गरेका छन् । ताल्चा, मइतु, झापागार्ड, कालापाल्ता गाउँका स्थानीयले रुखमा रसिलो र गुलियो स्याउ नहुँदै डोकोमा टिपेर गमगढी बजारमा प्रतिदाना पाँच रुपैयाँमा बेच्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत रामसुरत पालले पैसाको लोभले स्थानीयले काँचो स्याउ बेच्ने गरेको बताए ।

काँचो स्याउ बिक्री गर्दा किसानले नै घाटा सहनुपर्ने उनको भनाइ छ । यहाँका स्थानीयलाई स्याउ कुन बेला टिप्नुपर्छ भन्ने अझै जानकारी नभएको नगरपालिकास्थित ढुम गाउँका रामभक्त रोकायाले बताए । जिल्लाको सबैभन्दा बढी र राम्रो स्याउ उत्पादन हुने बाम गाउँका स्थानीयले भने कात्तिकमा स्याउ टिपेर पुस–माघमा बेच्ने गरेका छन् ।

पाकेपछि टिपेर घरभित्र भण्डार गर्ने र निकाल्दै बेच्ने गरेका छन् । जिल्लामा धेरै उत्पादन भएको वर्ष तीन हजार दुई सय मेट्रिक टनसम्म र कम उत्पादन भएको वर्ष करिब दुई हजार सात सय मेट्रिकटन स्याउ फल्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments