डीडीसीमा डेढ करोडको प्लास्टिक ‘गायब’

काठमाडौँ — सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध र दही प्याकेजिङ गर्ने प्लास्टिक (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयत गर्छ । एक केजी प्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दूध र ३ सय प्याकेट दही प्याकिङ गर्छ ।

आर्थिक वर्ष ०७३/०७४ मा ८० लाख ८७ हजार रुपैयाँको बढी प्लास्टिक देखियो । यो मूल्य बराबरको प्लास्टिकमा दही/दूध प्याकेजिङ भएर बिक्री भएको देखिएन । ‘यति ठूलो परिमाणको प्लास्टिक केमा खपत भयो ?’ डीडीसी स्रोतले भन्यो, ‘यो डीडीसीभित्र वर्षौंदेखि चल्दै आएको ठूलो अनियमितता रहेछ ।

किसानको दूध संकलन गर्ने चिस्यान केन्द्रमा बढी गुणस्तर दूध संकलन गर्ने । दूध प्याकेजिङ गर्ने आयोजनामा चलखेल गरी पानी थपेर चोर बाटोबाट दूध/दही बजारमा पठाउने धन्दा हुने रहेछ ।’ गत माघमा लैनचौरबाट दही चोरेर लैजाँदै गरेका एक कर्मचारीलाई चेतावनी दिएर छाडिएको थियो । सरोकारवाला कृषि तथा पशुपक्षी विकास मन्त्रालय, अख्यितार दुरुपयोग अनुसन्धान आयोगलगायतले ध्यानै नदिएको स्रोतले बतायो ।

डीडीसी स्रोतले उपलब्ध गराएको कागजातअनुसार यसअघिको वर्ष ०७२/०७३ मा १ करोड ७ लाख १७ हजार रुपैयाँ बराबरको प्लास्टिक बढी खपत भएको देखियो । यसअघि वर्ष पनि भएको देखिन्छ । ‘हामी सबै वर्षका कागजात खोजिरहेका छौं,’ स्रोतले भन्यो, ‘दुई आर्थिक वर्षमा करिब ढेड करोड रुपैयाँको प्लास्टिक घोटाला देखिएको छ ।’

आर्थिक वर्ष ०७३/०७४ मा आएको सञ्चालक समितिले यो घटनाको अनुसन्धान गर्‍यो । महालेखाले पनि यसबारे चासो राखेर ‘प्लास्टिक त्यसै बाहिर गएकौ छैन । यसमा दही र दूध पनि पोका भएर गएको छ प्राविधिक परीक्षणमार्फत अनुसन्धान गर्नु’ भनेर लिखितै पठायो । यो ठगीमा बालाजुबाट २४ लाख, लैनचौरबाट ३ लाख, विराटनगरबाट ८ लाख, जनकपुरबाट ४८ हजार र हेटौंडाबाट ३ लाख, लुम्बिनीबाट १८ हजार र नेपालगन्जबाट २१ हजार रुपैयाँ बराबरका प्लास्टिक हिनामिना भएको सञ्चालक समितिले गठन गरेको छानबिन समितिले देखाएको छ । यसमा करिब ५० जना डीडीसीका कर्मचारी संलग्न देखिएका छन् ।

‘हामीले प्राविधिक परीक्षण गर्दा ८० लाख ८७ हजार रुपैयाँ बराबरको प्लास्टिक बढी खपत भएकामा ४० लाख रुपैयाँ बराबरको प्लास्टिक प्राविधिक कारणले क्षति भएको पाइयो,’ स्रोतले भन्यो, ‘बाँकी ४० लाख रुपैयाँको प्लास्टिक खपतमा चलखेल भएको देखियो ।’यस विषयमा डीडीसीका निमित्त महाप्रबन्धक ईश्वरीराज न्यौपानेले पनि कमजोरी भएको स्विकारे । ‘बढी प्लास्टिक खपत हुनेक्रम ५/७ वर्षयता यतादेखिकै हो,’ निमित्त महाप्रबन्धक न्यौपानेले भने, ‘प्याकिजिङ गर्दा क्षति हुन्छ तर अलि बढी नै देखियो । पुनरावलोकनका लागि डीडीसीको सञ्चालक समितिलाई अनुरोधगरेका छौं । पुनरावलोकन भएन भने जसले क्षति पुर्‍याएका थिए उनैले तिर्नुपर्छ ।’

प्लास्टिक घोटालामा डीडीसीको लैनचौर र सबैभन्दा धेरै दूध दही उत्पादन गर्ने बालाजुसहित ७ वटा आयोजनाका प्रमुख, उपप्रमुख, प्रशोधन प्रमुख, स्टोर प्रमुख, मर्मत प्रमुख, ल्याब प्रमुख आदिबाट असुलउपर गर्ने देखिएको छ । ‘यसमा नाम किटानै गरिसकेका छौं,’ स्रोतले भन्यो । यो घोटालामा तीनवटा आन्तरिक छानबिन समितिले अध्ययन गरिसकेका छन् । डीडीसीले प्रतिवेदन सार्वजनिक गरेको छैन । बरु मिनाहा गराउन कर्मचारीहरू शक्ति केन्द्रसम्म दौडधुप गर्न लागेका छन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments