बाली थन्क्याउने बेला भारी वर्षा खेतमै उम्रियो पाकेको धान

धनगढी, असोज १० गते । धान रोपाइँको बेला पानी नपरेर हैरान भएका कैलालीका किसान धान काटेर भित्र्याउने बेला भएको वर्षाले चिन्तित बनेका छन् । पाकेको धानमा वर्षाले क्षति पुगेपछि उनीहरू चिन्तित भएका हुन् । कैलालीको विभिन्न ठाउँमा धान पाकेर भित्र्याउने काम भइरहेको छ । खेतमा धान पाकेकै बेला परिरहेको झरीले धेरै नोक्सान बेहोर्नु परेको कृषकले बताएका छन् ।
किसानले काटेको धान खेतमै उम्रिएको छ । दिनहुँ भइरहेको वर्षाका कारण काटेको धान सुक्न नसकेपछि उनीहरूले भित्र्याउन सकेका छैनन् । काटेर भित्र्याउन नपाएको र हावापानीका कारण ढलेको धान खेतमै उम्रिएको धनगढी उपमहानगरपालिका ८ का कृषक राजाराम रानाले बताउनुभयो ।
पानी जम्ने होचो जमिनमा किसानले धेरै अगाडि नै धान रोपाइँ गरेका थिए । अगाडि रोपिएको धान चाँडै पाकेपछि यो वर्ष उनीहरूलाई भित्र्याउन समस्या भएको छ । खुल्ला ठाउँमा चाँडै पाकेको धान काट्दा भित्र्याउन भने समस्या भइरहेको धनगढी उपमहानगरपालिका १० घुईयाघाटका कृषक खरदार रानाले बताउनुभयो । आठ कट्ठामा काटेको धान उहाँले भित्र्याउन पाउनुभएको छैन । पछिल्लो चार÷पाँच दिन लगातार भएको वर्षाले काटेको धान खेतमै बिग्रेको रानाले सुनाउनुभयो ।
सोमबार दिउँसोबाट घाम लागेपछि काटेको धान सुकाउने कार्यमा किसान तल्लिन थिए । उनीहरू धान उल्टाउने काम गरिरहेका थिए । रोपाइँको बेला पानी नपरेर समस्या भएको थियो खरदारले अगाडि थप्नुभयो, ‘जसोतसो धान लगाइयो तर भित्र्याउन पाइएको छैन । लगातार पानी परेर धेरै समस्या भएको छ । ’
काटेको धान भिजेपछि फसल र पराल दुवै नराम्रो हुने गरेको किसान बताउँछन् । भिजेको धानलाई व्यापारीले किन्न नमान्ने गरेको उनीहरूले सुनाए । पाकेको धानलाई पानीले प्रभावित गरेपछि भात मीठो नहुने गरेको घुईयाघाटकै सन्तोषदेवी रानाले बताउनुभयो ।
काटेको धान खेतमै उम्रिन थालेपछि कतिपय किसानले भिजेको धान जसोतसो दाइँ गरेका छन् । पाँच कट्ठा जमिनमा काटेको धान भिजेकै अवस्थामा दाइँ गरेको वडा नं. १० घुईयाघाटका अर्का किसान रामबाबु रानाले बताउनुभयो ।
किसानले लगाएको चैनी जातको धान छिटो पाकेको जनाइएको छ । यस वर्ष बाढीले जिल्लामा धानखेती प्रभावित नभए अझैसम्म रहिरहेको मनसुनी वर्षाले नोक्सान गरिरहेको किसानले बताएका छन् । ‘छिटो पाक्ने जातको धान लगाएर अहिले समस्या भइरहेको छ’, रामबाबुले भन्नुभयो, खेतमै धान उम्रिएर नोक्सान भएपछि मिहिनेत खेर गएको छ । ’
धान उत्पादनका लागि उर्वर मानिने यो जिल्लामा चाँडै हुने जातको धान सबै क्षेत्रमा पाकिसकेको जनाइएको छ तर मनसुन नगएकाले किसानले काटेर भित्र्याउन सकेका छैनन् । खास गरेर चाँडै हुने धान लगाएका किसानलाई वर्षाका कारण भित्र्याउन समस्या भइरहेको धनगढी उपमहानगरपालिका १० का वडाध्यक्ष राजेन्दर रानाले बताउनुभयो । यो क्षेत्रमा ९५ प्रतिशत व्यक्तिले खेतीपाती गर्ने गरेका छन् उहाँले भन्नुभयो, उनीहरूले लगाएको चैनी जातको धान चाँडै पाक्यो र वर्षाका कारण प्रायः सबैलाई समस्या भएको छ । ’
काटेर भिजेको धान मात्र नभई हावापानीका कारण ढलेको धान पनि खेतमै कुहिन थालेको अध्यक्ष रानाले बताउनुभयो । कैलालीमा ७१ हजार पाँच सय हेक्टर जमिनमा धानखेती गरिएको छ । यहाँ उत्पादित धानले पहाडी जिल्लामा पठाउने गरिएको छ ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments