मनाङको आलुलाई सहज बजार

लमजुङ — लेकाली आलु त्यसै पनि स्वादिलो । त्यसमाथि हिमालपारिको जिल्ला मनाङ–मुस्ताङका आलु खान पाए नरमाउने को होला ? धान, मकै र कोदो खेती नहुने मनाङको प्रमुख बाली नै आलु हो । आलुले फापर, गहुँ, करु र जौलगायतको खेतीसँगै मनाङेलाई राम्रो दाम दिलाउने गरेको छ ।

बस्तीमा रहेका अधिकांश क्षेत्रमा आलु खेती गरिन्छ । मनाङ स्थायी घर भएका मात्रै होइन अरू जिल्लाबाट पुगेर पनि वर्षौंदेखि बस्दै आएकाहरू आलु फलाउन लागिपरेका भेटिन्छन् । यहाँ बजारबाट बीउ लगेर आलु रोप्ने चलन छैन । आफैंले राखेका बीउ नै रोप्ने गरिएको छ । यतिबेला मनाङका विभिन्न भागमा स्थानीयलाई आलु घरमा भित्र्याउने चटारो छ । चामेदेखि तल्लो क्षेत्रमा धेरैले बारीबाट खनेर आलु भित्र्याइसकेका छन् । माथिल्लो भेगमा भित्र्याउनेलाई धमाधम छ ।

तल्लो क्षेत्रमा भदौ र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने गरिएको कृषि प्राविधिकहरू बताउँछन् । फागुन–चैतमा रोप्ने गरिएको आलु यतिबेला तयार भएको छ । आलु खरिदका लागि बाहिरी जिल्लाबाट व्यापारी किसानका घरखेतैमा पनि पुग्छन् । धेरै आलु मनाङमै पनि खपत हुन्छ ।

चामे गाउँपालिका २ थान्चोकका बिन घलेका अनुसार व्यापारी र आन्तरिक पर्यटकलगायतले मनाङको आलु किनेर लैजान थालेपछि खेती गर्दा फाइदा हुने बुझेर लगाउने बढेका छन् । चाडबाड र लामो समयपछि बिदामा घर जान लागेका कर्मचारीले आलु नै लिएर मनाङबाट झर्छन् । ‘अब दसैंतिहार आउन लाग्यो । घर जाने कर्मचारीले कोसेली आलु नै बोकेका हुन्छन्,’ उनले भने, ‘धेरै फलाउनेहरू आलु बेच्न बेंसीसहर र काठमाडौं पनि पठाउने गरेका छन् ।’

यो वर्ष मात्रै ५० मुरी आलु फलाएका घलेले लमजुङको रामबजारदेखि अर्खलेबेंसीसम्मको पहिराका कारण सडक अवरुद्ध भएयता बिक्रीका लागि पठाउन समस्या परेको बताए । ‘अब बाटो खुल्छ । त्यसपछि पठाउने हो,’ उनले भने । उनका अनुसार ५/६ वर्षअघिसम्म मोटर नचल्दा गाउँमा आलु खपत हुन गाह्रो थियो । कतिपयले धेर भएर गाईलाई खुवाउँथे । अहिले त्यो समस्या छैन । ‘मनाङ घुम्न आउने धेरैले आलु किनेर लान्छन्,’ उनले भने ।

नासों गाउँपालिका ८ ताचैका सोलबहादुर गुरुङका अनुसार गाउँमा उत्पादित आलु पहिले नातागोता, इष्टमित्र, आफन्तलाई कोसेलीका रूपमा पठाइन्थ्यो । आफैंले खााइन्थ्यो । बीउ बचाएर राखिन्थ्यो । आलु त्यतिकै खेर जाने अवस्था थियो । ‘गाउँसम्मै गाडी आइपुगेको छ । भदौमा खनेको आलु खेतखेतमै मान्छे आएर लगिसक्यो,’ गरुङले थपे, ‘केहीको बाँकी आलु बिक्री गर्ने तयारी छ । धेरैजसो गाउँघरमा आफैंले खाने गरेका छौं ।’ बेंंसीसहर–चामे सडक बन्नुका साथै गाउँसम्मै सडक आएपछि गाउँमा फलाएको आलु खेर जान छोडेको उनले बताए । ‘अहिले त आलु नबिक्ने कुरै हुँदैन,’ उनले भने ।

तिमाङका चीन घलेका अनुसार केही वर्षअघिसम्म मनाङमा मोटर गुडदैनथ्यो । त्यतिबेला मानिस वा खच्चडलाई बोकाएर बजारबाट दाल, चामल, नुन, तेल लगिन्थ्यो । तिनै खच्चडमा आलु पठाउने गरिन्थ्यो । अहिले सडक बनेपछि सवारी साधनमै राखेर बेंसीसहर, काठमाडौं पठाउने गरिएको छ । ‘पहिलेपहिले दाल, चामल, नुनतेल लिएर आएका व्यापारी आलु, गहुँ, करु, फापर साटेर फर्कन्थे,’ उनले भने, ‘धान, मकै, कोदो नहुने मनाङमा दाल, चामल बजारबाटै ल्याउनुपथ्र्यो । कहिले मनाङी जान्थे, कहिले व्यापारी आउँथे ।’ उनका अनुसार अहिले मनाङको आलु देशका ठाउँठाउँमा पुगेको छ । ठाउँठाउँबाट आएकाले मनाङमा यहाँको रैथाने आलुको स्वाद खान पाएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका वरिष्ठ लेखाअधिकृत कैलाशबाबु तिवारीका अनुसार मनाङको रैथाने आलु यहाँ आउने पर्यटकलाई खुवाउने प्रमुख बाली हो । माथिल्लो क्षेत्रमा यतिबेला आलु भित्र्याउने चटारो छ । ‘सहरका तीनतारे, पाँचतारे होटलमा बन्ने आलुका परिकार यहाँका होटल व्यवसायीले यहीँका आलुबाट बनाउँछन् । पर्यटक निकै खुसी मान्छन्,’ उनले भने, ‘केही आलु मात्रै बाहिरिन्छ । धेरै आलु यहाँका होटलहरूमा खपत हुन्छ ।’ किसानका अनुसार आलुलाई प्रतिपाथी १ सय २० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ ।

मनाङमा आलुको उत्पादन बढदै गएको कृषि प्राविधिकहरू बताउँछन् । साविक जिल्ला कृषि विकास कार्यालय मनाङका कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार आलु खेती गर्ने किसान र आलु उत्पादन बर्सेनि बढदै गएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ४ सय ४५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा ७ हजार ६ सय ११ टन उत्पादन भएको थियो । आव २०७३/०७४ मा ६ सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा ८ हजार २ सय ३७ टन आलु उत्पादन भएको थियो । आव २०७४/७५ मा ६ सय ८१ टन क्षेत्रफलमा खेती गरिएकामा ८ हजार ४ सय २० टन आलु उत्पादन भएको थियो । ‘आलु खेतीको क्षेत्रफल र आलु बर्सेनि बढदो छ । यसबाट मनाङका किसान आलु खेतीतर्फ आकर्षित भएको बुझिन्छ,’ उनले भने । पछिल्लो समय मोटरबाटो खुलेपछि आलुले बजार पाउँदा किसान बढी मात्रामा आलु खेती गर्न लालायित भएको उनले बताए ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments