नेपालमा पोल्ट्री सम्मेलन हुने

चितवन — नेपालमा अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजियम (सम्मेलन) हुने भएको छ । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सक्रियतामा कात्तिक ११ देखि १३ सम्म हुने सम्मेलनमा नेपालसहित १० मुलुकका ३ सय जनाले सहभागिता जनाउने आयोजकले बतायो ।

मूल आयोजक समितिका अध्यक्ष प्राडा शारदा थपलियाका अनुसार सम्मेलनमा ११२ वटा वैज्ञानिक र अनुसन्धानमूलक कार्यपत्रहरू पेस हुनेछन् । पोल्ट्रीमा गर्नुपर्ने र भएका अनुसन्धानको विस्तृत चर्चा हुनेछ । ‘कुखुराको पोषण व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, कुखुराको आनुवंशिक प्रजनन व्यवस्थापन तथा जैविक प्रविधि र एकीकृत र ग्रामीण कुखुरापालन विषयमा अनुसन्धानमूलक कार्यपत्र आउनेछन्,’ अध्यक्ष थपलियाले भनिन् । कुखुरा उत्पादनसम्बन्धी नीति र सामाजिक आर्थिक अवस्थाका विषयमा पनि भए गरेका अनुसन्धान सम्मेलनमा प्रस्तुत हुनेछन् ।

‘विदेशमा तयार भएका नश्ललाई प्रयोग गरेर प्रविधि पनि उतैको ल्याएर हामीले यहाँ उत्पादन बढाएका हौं । आफ्नै भन्ने त्यस्तो केही छैन । हाम्रा आफ्नै रैथाने जातहरू छन् । त्यसको विषयमा पनि अब सोच्नुपर्ने बेला आएको छ,’ विश्वविद्यालयका प्राडा भूमिनन्दन देवकोटाले भने । रैथाने जातमा मौलिक प्रविधि के कसरी प्रयोग गर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने उनले बताए ।

देवकोटाका अनुसार नेपालमा पाइने स्थानीय जातको कुखुराका विषयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक सरोज सापकोटाले अनुसन्धान गरेका छन् । उनले उत्कृष्ट जात छनोट गरेर प्रजनन गराउँदा एउटा स्थानीय जातको कुखुराले १२० वटासम्म अण्डा दिएको बताए । अहिले सरदर ७० वटासम्म अण्डा दिन्छ । विकासे जातले योभन्दा पाँच गुणा दिन्छ ।

त्यसैगरी सात/आठ महिनामा झन्डै ११ सय ग्रामको हुने गरेको स्थानीय जातको कुखुरालाई यही अवधिमा दुई किलोसम्म बनाउन सकिने सापकोटाको अनुसन्धानले देखाएको छ । ‘नेपालमा कुखुराको क्षेत्रमा कमै अनुसन्धान हुन्छन् । भएका अनुसन्धान पनि जनस्तरमा पुग्न सकेका छैनन् । पोल्ट्री सम्मेलनले यो समस्या समस्या हटाउने आशा छ,’ विश्व विद्यालयका प्रध्यापक होमबहादुर बस्नेतले भने ।

निजी क्षेत्रका अग्रणी पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराई नेपालमा १८ वटा पोल्ट्री फर्महरू ठूला उद्योगका रूपमा नै सरकारी निकायमा दर्ता भएको बताउँछन् । ‘तर व्यावसायिक फर्मका कखुरालाई गर्मीबाट कसरी बचाउने, बिजुली नै नभएको र चिसो ठाउँमा के–कसरी कुखुरापालन गर्ने भन्ने विषयमा अध्ययन आवश्यक छ । यतातर्फ धेरैको ध्यान गएको छैन,’ भट्टराईले भने ।

कृषि विश्वविद्यालयका उपकुलपति डा. आईपी ढकाल नेपालमा कृषि विश्वविद्यालयका विद्यार्थी र कृषि अनुसन्धान परिषद्बाट कुखुराका विषयमा केही अनुसन्धान भएको बताउँछन् । केही भ्याक्सिनहरू पनि नेपाली अनुसन्धानबाट निस्केको उनले बताए । तर, कुखुरापालनले व्यावसायिक फड्को मारे जसरी अनुसन्धानमा प्रगति हुन नसकेको उनले स्वीकार गरे ।

पशुसेवा विभागको तथ्यांकअनुसार नेपालमा सात करोड कुखुरा रहेको देखिन्छ । निजी क्षेत्रको लगानीले नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा लगभग आत्मनिर्भर जस्तै भएको डा. थपलियाले बताइन् । निजी क्षेत्रले अनुसन्धानमा काम नगर्ने भएको हुँदा सरकारी निकायनै यसमा तात्नुपरेको उनको भनाइ छ ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments