झिनियाको कारोबारबाट लाखौं आम्दानी गर्दै महिला

पाल्पा – दसैं तथा तिहारका बेला चामलको पीठोबाट उत्पादित झिनिया रोटीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ। हिन्दुहरूको महान् पर्वहरूमा रोटीको विभिन्न परिकारमध्ये एक झिनियारोटीको प्रयोग हुन थालेपछि महिलाहरूको आम्दानीमा पनि वृद्धि भएको छ।

पाल्पा तानसेनको टक्सारमा उत्पादित झिनिया रोटी चामलको पीठोलाई पकाएर मसिना प्वाल भएको साँचोबाट पीठोको रेसा निकालिन्छ। त्यसलाई चाउचाउ जस्तै गोलो आकारमा निर्माण गरी २–३ दिनसम्म घाममा सुकेपछि झिनिया बजारमा बेच्न योग्य हुने गर्दछ। तानसेनको टक्सारमा उत्पादित झिनियाले तिहारका बेला राम्रो बजार पाउँदा झिनिया उत्पादन गर्ने यहाँका महिलाको आयआर्जन समेत बढ्न थालेको छ। फुर्सुदका बेला झिनिया उत्पादन गर्दै आएका महिलाले दर्जनको २ सय ५० रुपैयाँमा साना साइजका झिनिया बेच्दै आएका छन्। एक दर्जन ठूला साइजकाझिनियालाई ३ सयदेखी ५ सय रुपैयाँसम्म पर्ने गरेको छ।

टक्सारटोलकी झिनिया व्यवसायी कमलादेवी श्रेष्ठ भन्छिन्, दसैं र तिहारका समयमा माग उच्च हुन्छ। अन्य समयमा यसको न्यून रुपमा प्रयोग हुने भएतापनि शहरमा यसको माग भने भइरहेको छ। तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रुपमा झिनिया तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाको कारोबार उच्च हुँदै गएको हो। पाल्पाबाट उत्पादित झिनिया गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायतका जिल्लामा ठूलो मात्रमा आयात हुँदै आएको झिनिया व्यवसायी बताउँछन्।

जिल्लामा झिनियाको व्यवसायमा दुई सय भन्दा बढी महिलाले रोजगार पाएका छन्। जिल्लाभर वार्षीक झण्डै १ करोडको झिनियाको कारोबार हुने गरेको पाल्पा उद्योग वाणिज्य सङ्घका महासचिव यादव कार्की बताउँछन्। तानसेनको टक्सारमा उत्पादित झिनियाको व्यापार फस्टाउन थालेपछि अहिले जिल्लाका ग्रामीण क्षेत्रमासमेत महिलाले झिनिया उत्पादन गर्दै आएका छन्। फुर्सुदका समयमा उत्पादित झिनियाले महिलालाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुर्याएको हो।

रामपुर नगरपालिका वडा नम्बर– ५ राङ्भाङकी मैयाँ श्रेष्ठले झिनिया बेचेर झण्डै डेढ लाख आम्दानी गरेको बताइन्। ‘विगतका वर्षहरूबाट नै तिहारका बेला झिनिया बनाउँदै आएकी छु,’ उनले भनिन्, ‘घर खर्च चलाउन अरुको भर पर्नुपर्ने अवस्था छैन।’ रामपुर नगरपालिका ४ मटेरीकी लक्ष्मी श्रेष्ठले पनि झिनिया बेचेर तिहारको समयमा साढे २ लाखसम्म आम्दानी गरेको बताइन्। उनका अनुसार अहिले दैनिक ३ सय दर्जनभन्दा बढी झिनिया बिक्री हुन्छ।

२५ देखी ३० हजारको लगानीमा घरमै बसीबसी लाखौँ आम्दानी गर्न सफल भएको उनीहरूको भनाइ छ। झिनिया बनाउन घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले सामान्य तालिम पनि दिँदै आएको छ। आफूहरूले सामान्य तालिम दिँदै आएको कार्यालय प्रमुख बालकृष्ण गैरेले बताए।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments