द्वन्द्वपीडित बालबालिकालाई दसैंमा नयाँ लुगा र खसी उपहार

सर्लाही – महान चाड वडादसैंमा लगाउने नयाँ लुगा र मासु खानका लागि खसी पाएपछि द्वन्द्वपीडित बालबालिका हर्षित भएका छन्। हरिवन घुर्कौलीस्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकालाई सोमबार त्यस्तो अवसर जुरेको हो। बागमती नगरपालिकाले १ लाख रुपैयाँ खर्चेर बालबालिकाका लागि नयाँ लुगा, खसी, चामल, चिउरा, प्याज, तेल, नुन, मुरी लगायत सामग्री प्रदान गरेको छ।

बालगृहमा आश्रीत आरती शान्तिले बागमती नगरपालिकाको सहयोगबाट हर्षोल्लास पूर्वक दसैं मनाउने अवसर पाएको भन्दै खुसी प्रकट गरिन्। ‘दशैं जस्तो महान चाडमा हामीलाई खुसी तुल्याउनु भएको अतुलनिय सहयोगप्रति नगरपालिकाका मेयर साहेबज्यूप्रति धेरै आभारी छौं’, सहयोग हस्तान्तरण समारोहमा स्वागत मन्तव्य राख्दै उनले भनिन्, ‘आप्mनो अभिभावक गुमाएका हामी जस्ता बालबालिकाका लागि तपाईंहरू जस्ता मनकारी अनेकौं अभिभावक पाएका छौं, जसले हामीलाई निकै खुसी र सद्मार्गमा हिँड्ने प्रेरणा मिलेको छ।’

बालगृह परिसरमा बिहान आयोजित सहयोग हस्तान्तरण समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीले अभिभावक गुमाएर बालगृहमा आश्रीत बालबालिकाको दसैं रमाइलो बनाउने जस्तो महान काम गरेकोमा बागमतीनगरपालिका परिवारप्रति आभार प्रकट गरे। ‘सबैजना रमाईलो गर्ने महान चाडमा मुलुककै कर्णधारको रुपमा रहेका बालगृहमा आश्रीत यि बालबालिकाको खुसीकालागि सहयोग गर्नु अत्यन्त महान कार्य हो’, उप्रेतीले भने, ‘हामी सबैले यी बालबालिकाहरूका लागि बेला बखतमा सम्झने प्रयास गर्नुपर्छ।’

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले नेपालीहरूको महान चाड दसैं द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकाले समेत रमाइलोसँग मानुन् भन्ने उदेश्यले नगरपालिका कार्यालयबाट १ लाख रुपैयाँ सहयोग गरिएको बताए। ‘हामी सबैले रमाईलोसँग मान्ने महान चाड दसैं यी साना बालबालिकाले पनि रमाईलोसँग मनाउन् भन्ने उदेश्यले सानो भएपनि सहयोग गरेका हौं’, मेयर थापाले भने, ‘आगामी दिनमा समेत निरन्तर सहयोग गर्नेछौं।’ २०५९ सालमा स्थापना भएको बालगृहमा अभिभावक गुमाएका ४२ जना बालबालिका आश्रीत छन्।

nagariknews.nagariknetwork.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?