व्यापारी पर्खंदै अलैंची

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१०, का केशव रोकायले यस वर्षको अलैंची भित्र्याइसकेका छन्  । केही वर्षदेखि अलैंची खेती गर्दै आएका रोकायले अहिले तीन क्विन्टल बढी अलैंची उत्पादन गरेका छन्  ।

अलैंची बिक्रीका लागि तयार भए पनि बिक्री हुन सकेको छैन । मुसीकोट नगरपालिका–९, को कानिगैरी काकरसिङ सामुदायिक वनबाट झन्डै ४ क्विन्टल अलैंची उत्पादन भएको छ । रोकाय र वन समूहका सदस्य उत्पादन गरेको मात्रै होइन, जिल्लाका अधिकांश किसानले भित्र्याएको अलैंची बिक्री सुरु भएको छैन ।

विगत वर्षमा अलैंचीका लागि बारीमा आउने व्यापारी यस वर्ष अलैंची तयार भइसक्दासमेत खरिदका लागि आएका छैनन् । ‘भित्र्याइसकेको अलैंची यतिबेला बिक्री भइसक्नुपर्ने हो, तर एक किलो पनि बिक्री भएको छैन,’ रोकायले भने, ‘हाम्रा अलैंची व्यापारीको पर्खाइमा छन् ।’

२०७३ सालसम्म राम्रो आम्दानीको स्रोत बनेको अलैंची गत वर्षदेखि बिक्री हुन सकेको छैन, भए पनि न्यून मूल्यमा मात्रै बिक्री गर्न किसान बाध्य छन् । मुसीकोट नगरपालिका–९ र १० वडामा मात्रै १० क्विन्टल बढी अलैंची तयारी अवस्थामा छ । ‘हामीले अलैंची टिपेर, सुकाइ, पकाइ बिक्रीका लागि ठीक पारेको पनि लामो समय भइसक्यो,’ मुसीकोट नगरपालिका–१०, का दीपक केसीले भने, ‘अलैंची खरिदका लागि कोही आएका छैनन् ।’ विगतका वर्षमा अलैंची खरिदका लागि व्यापारी गाउँमै पुग्थे । अघिल्लो वर्षदेखि अलैंची खरिदका लागि भन्दै व्यापारी गाउँसम्म पुगेका छैनन् । अलैंचीको भाउ घटेकाले किसान चिन्तामा छन् ।

२०७३ सालसम्म दुई हजार दुई सयदेखि दुई हजार पाँच सयसम्म प्रतिकिलो अलैंची बिक्री गरेका किसानले दुई वर्षयता राम्रो भाउ पाउन सकेका छैनन् । गत वर्ष कति किसानले भाउ नपाएपछि अलैंची बिक्री गरेनन् । गाउँकै केही व्यापारीले पाँचदेखि ६ सय रुपैयाँ प्रतिकिलो अलैंची खरिद गर्न थालेका छन् । बीउ उत्पादन र बीउ खरिदको मूल्य नपाइने भएपछि किसान अलैंची बिक्री गर्ने कि नगर्ने भन्नेमा अन्यौल छन् ।

त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँका अलैंची किसान पनि व्यापारीको पर्खाइमा छन् । १, २, ३, ४, ५, ७ नम्बर वडालगायत किसान अलैंची भित्र्याएर व्यापारीको पर्खाइमा छन् ।

अलैंची उत्पादनसमेत गरेका १ नम्बर वडा अध्यक्ष मोहनकिशोर ओलीले गाउँसम्म व्यापारी नआए पनि सिम्रुतु तथा झुल्नेटा बजारसम्म अलैंची खरिद हुने आशामा रहेको बताए । २०७३ सालसम्म अलैंचीको भाउ निरन्तर बढेका कारण जिल्लामा अलैंची खेतीप्रति आकर्षण बढेको थियो ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments