धान उत्पादनमा रेकर्ड तोडिँदै

काठमाडौं – गत वर्षभन्दा यो वर्ष करिब साढे ६ लाख टन धेरै धान फलेको अनुमान गरिएको छ। अहिलेसम्मकै रेकर्ड तोड्दै चालू आर्थिक वर्ष ०७५/७६ मा करिब ५८ लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ। गत आव ०७४/७५ मा ५१ लाख ५१ हजार टन धान फलेको थियो। विगतमा सबैभन्दा धेरै आव ०७३/७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो।

धान रोपण क्षेत्र वृद्धि, समयमै रोपाइँ, अनुकूल मौसम, सिँचाइ, प्रविधि, मल, बीउको राम्रो व्यवस्था हुँदा धान उत्पादन बढेको मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए। ‘विगतमा भन्दा निकै धेरै राम्रो धान फलेको छ,’ जिसीले भने, ‘रोगकिराको प्रकोप नआएकाले पनि उत्पादन बढेको हो।’

विगतमा बाँझै रहने जमिनमा पनि यो वर्ष समयमै वर्षा हुँदा धान रोपिएको मन्त्रालयले जनाएको छ। ‘विगतका वर्षभन्दा यो वर्ष बढी क्षेत्रमा रोपाइँ भएको थियो,’ सचिव जिसीले भने, ‘सबै पक्षले साथ दिँदा उत्पादन बढेको हो।’ यो वर्ष धान खेतीको क्षेत्रफल पनि विस्तार भएको छ । धान खेती १५ लाख ६२ हजार हेक्टर पुगेको छ।

यो वर्ष किसानले धान काटेर भित्र्याउन सुरु गरिसकेको कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले बताए। ‘किसानले धान भित्र्याउन थालेका छन्,’ महानिर्देशक पौडेलले भने, ‘यो वर्ष चैते धानबाहेक ५५ लाख मेट्रिक टन धान फल्छ।’ चैतेसहित करिब ५८ लाख टन उत्पादन हुने पौडेलको भनाइ छ।

यस वर्ष १ खर्ब ३५ अर्ब १८ करोड ८० लाख रुपैयाँबराबरको धान फल्ने भएको छ। गत आर्थिक वर्ष २९ अर्ब ३५ करोड रुपैयाँको चामल आयात भएको थियो। यो वर्ष धान उत्पादन वृद्धि भएपछि आयात घट्ने सम्भावना छ। गत वर्षको तुलनामा यो वर्ष १५ अर्ब १५ करोड रुपैयाँबराबरको धेरै धान फलेको छ । सरकारले मसिना धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा र मोटा धानको न्यूनतम मूल्य २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा निर्धारण गरेको थियो।

धान उत्पादन बढ्ने भएपछि सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कुल गार्हस्थ उत्पादनमा पनि धानको योगदान ३ देखि ४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ।

मनाङ र मुस्ताङबाहेक मुलुकका सबै जिल्लामा धान खेती हुन्छ । ६० मिटरदेखि ३ हजार ५० मिटरको उचाइमा धान खेती गरिन्छ । तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ र उच्च पहाडमा ४.१ प्रतिशत क्षेत्रमा धान खेती गरिएको मन्त्रालयले जनाएको छ । कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धान खेती हुन्छ।

सरकारले चामललगायतका खाद्यवस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । धान उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विशेष पकेट क्षेत्र बनाइएको छ । मन्त्रालयले धान उत्पादन बढाउन खडेरी र धेरै पानी परेर डुबान हुने क्षेत्रका लागि नयाँ जातका धान सिफारिस गरेको छ।

मन्त्रालयले धान उत्पादनका लागि २४ ब्लक, पाँच जोन र एक सुपरजोन बनाएको छ । झापामा धानको सुपर जोन, कञ्चनपुर, कपिलवस्तु, प्युठान, बर्दिया, सर्लाही र सिरहालाई धानको जोन र २४ जिल्लामा ब्लक तयार गरिएको छ। ५० जिल्लामा चैते धान खेती गर्न प्रोत्साहन गरिएको मन्त्रालयले जनाएको छ । उत्पादन बढाउन धान मिसन कार्यक्रम सञ्चालन गरेको मन्त्रालयले जनाएको छ । ३५ जिल्लामा धान मिसन र २० जिल्लामा बास्नादार धान कार्यक्रम सञ्चालन भएको छ।

यस वर्ष १ खर्ब ३५ अर्ब १८ करोड ८० लाख रुपैयाँबराबरको धान फल्ने भएको छ। गत आर्थिक वर्ष २९ अर्ब ३५ करोड रुपैयाँको चामल आयात भएको थियो। यो वर्ष धान उत्पादन वृद्धि भएपछि आयात घट्ने सम्भावना छ।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments