गोठमा आगो लाग्दा १८ गाई मरे, १२ सिकिस्त

पोखरा — सिक्लेसमा गोठमा आगलागी हुँदा १८ वटा गाई डढेर मरेका छन् । १२ वटा सिकिस्त छन् ।

साबिकको पार्चे–७ र हालको मादी गाउँपालिका–१ का कृतिमान गुरूङको गोठमा आइतबार साँझ आगलगी भएको हो ।

स्थानीय गेहेन्द्र गुरूङका अनुसार गाईवस्तुलाई चिसोबाट जोगाउन बालिएको घाँसपरालबाट फैलिएको आगोले गोठ डढाएको हो । गोठालाले न्यानो पार्न गोठभित्र आगो बालेर गएका थिए ।

बस्तीभन्दा करिब सय मिटर पर हुगु जाने गोरेटो नजिकै रहेको गोठमा आगो फैलिएर गन्ध आउन थालेपछि गाउँलेले घटना थाहा पाएका हुन् । ‘आगो फैलिएर धेरैवटा गाई मरेपछि मात्रै गाउँलेले थाहा पाएर पुगे,’ उनले भने, ‘ठूलो क्षति भयो । हामी सबै गाउँलेलाई पीर परेको छ ।’

गोठमा ३८ वटा गाईवस्तु थिए । दाम्लो चुँडाएर भाग्न नसकेका गाइ डढेर मरेका हुन् भने भागेका मध्येपनि धेरैवटा डढेर घाइते छन् । घटनापछि गाउँले मिलेर आगो निभाउनुका साथै मरेका वस्तु खाडल खनेर गाडेका छन् ।

पुरानो थलोमा चिसो बढ्न थालेपछि हिउँदमा गोठ आफ्नो घर नजिकै सार्ने र गोबर मल ओसार्ने तयारीमा रहेका कृतिमान बाली भित्र्याउने समय पर्खिरहेका थिए । सिक्लेस पोखराबाट ४० किमी टाढा पर्छ ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments