प्रदेश ५ को घट्दो जमिनमा बढ्दो धान उत्पादन

बुटवल — धान उत्पादनमा सातमध्ये प्रदेश ५ मा पहिलो नम्बरमा छ  । यस प्रदेशस्थित तराईका जिल्ला धान भण्डार मानिन्छन्  । मौसमअनुकूल भएपछि यस वर्ष झन्डै १२ प्रतिशतले उत्पादन वृद्धि हुने अुनमान छ ।

खेती गर्ने जमिन घटदै गए पनि समयमै पर्याप्त वर्षा, मलको उपलब्धता र सिँचाइ सुविधाले झन्डै ८० हजार टन धान उत्पादन बढ्ने जिल्लाका कृषि ज्ञान केन्द्रको विश्लेषण छ ।

तराईका ६ जिल्लामध्ये रूपन्देहीमा धान बढी फल्छ । मुलुकमै धेरै धान उत्पादन हुने जिल्ला प्रदेश १ को झापा हो । देशका १० बढी धान उत्पादन हुने जिल्लामध्ये रूपन्देही चौथो, कपिलवस्तु सातौं, बर्दिया आठौं र नवलपरासी दसौंमा पर्छ । रूपन्देहीमा १० वर्षयता धान उत्पादन हुने जमिन ३ हजार हेक्टर घटेको छ । उत्पादन ५ देखि ७ प्रतिशतसम्म बढेको तथ्यांक छ ।

दाङ र बाँके पनि धानका अग्रणी जिल्ला हुन् । दाङमा उत्पादकत्व ३ देखि ४ टनले बढेको छ । ३८ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ ।

बाँकेमा कृषि ज्ञान केन्द्रले गत वर्षको तुलनामा १० देखि १५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ‘१५ प्रतिशतसम्म उत्पादन बढ्न सक्छ,’ केन्द्र प्रमुख सागर ढकालले भने । गत वर्ष बाँकेमा ३५ हजार ३८ हेक्टरमा गरिएको धान खेतीबाट १ लाख ३६ हजार ६ सय ४८ टन उत्पादन भएको थियो ।

बर्दियामा पनि यस वर्ष उत्पादन बढ्ने देखिएको छ । मौसमी वर्षा, रोग नलाग्नु, मलखादको अभाव नहुनुुलगायत कारणले यस वर्ष उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको हो । ३ वर्षदेखि धानको उत्पादन घटदै आएकोमा अहिले उत्पादन बढेको केन्द्रले जनाएको छ ।

गत वर्ष २ लाख १० हजार ६ सय ८२ टन धान उत्पादन भएको थियो । यस वर्ष २ लाख ४२ हजार २ सय ८५ टन उत्पादन हुने अनुमान गरिएको केन्द्र बर्दियाका प्राविधिक सहायक कमल तामाङले बताए ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले जिल्लामा खेतीयोग्य जमिन घट्दै गए पनि धान उत्पादन वृद्धि हुँदै गएको बताए । ‘हेर्दा जमिन घट्दो देखिन्छ,’ उनले भने, ‘तर, धान उत्पादन हरेक वर्ष बढ्दो छ ।’ १० देखि १४ प्रतिशतसम्म बढ्ने उनले बताए ।

गत वर्ष ७ लाख ८५ हजार १ सय १४ टन धान उत्पादन भएको यस प्रदेशमा यसपटक ७८ हजार ५ सय १० टन बढ्ने मन्त्रालयको विश्लेषण छ ।

कपिलवस्तुमा घट्ने
कपिलवस्तुमा यस वर्ष उत्पादन घटेको छ । दाना पसाउने बेला पानी नपर्दा १२ प्रतिशतसम्म धान उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । पानी नहुँदा धानका बाला राम्ररी पसाएको छैन । रोप्ने बेला पर्याप्त वर्षा भए पनि बाला लाग्ने बेला पानी कम परेपछि उत्पादन घट्ने देखिएको हो । ढिलो पाक्ने जातको धानलाई मिल्किङ स्टेजमा बढी पानी चाहिन्छ ।

तर, त्यही समयमा वर्षा नहुँदा १० देखि १२ प्रतिशतले कमी आउने केन्द्रले जनाएको छ । ‘मिल्किङ स्टेजका बेला पानी नपर्दा धान उत्पादन घट्ने भयो,’ केन्द्र प्रमुख सहसराम चौधरीले भने, ‘१२ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ ।’ ७२ हजार हेक्टरमा लगाइएको धानबाट २ लाख ११ हजार २ सय ११ टन उत्पादन हुने अनुमान थियो । ‘प्रतिहेक्टर २ दशमलव ९३ प्रतिशतले उत्पादकत्व हुने अनुमान गरका थियौं तर चाहिने बेलामा वर्षा भएन,’ उनले भने । पानीसँगै मल अभाव भएको किसानको गुनासो छ ।

(रूपन्देहीबाट घनश्याम गौतम, कपिलवस्तुबाट मनोज पौडेल, दाङबाट दुर्गालाल केसी, बर्दियाबाट कमल पन्थी, पश्चिम परासीबाट नवीन पौडेल र बाँकेबाट मधु शाही)कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments