२५ बिघा धानबाली नष्ट

पर्सा — ठोरी गाउँपालिका–२ इच्छानगरमा जंगली हात्तीले करिब २५ बिघा खेतको धानबाली नष्ट गरेको छ । एक महिनायता चितवन राष्ट्रिय निकुञ्जबाट संसाझै गाउँ पस्ने हात्तीको झुन्डले पाकेको धानबाली र घरमा थन्क्याइसकेको धान समेत नष्ट पारेको छ । हात्तीले स्थानीयको घरमा समेत क्षति पुर्‍याउने गरेको छ ।

९७ घरधुरी रहेको इच्छानगरमा गत असोजको दोस्रो सातादेखि हात्ती आइरहेका छन् । स्थानीय विकास विष्टले यस अवधिमा एकपटक २ दर्जनको संख्यामा हात्ती गाउँ पसेको र हाल भने दैनिक २ वटा हात्ती आइरहेको बताए । हात्तीले आफ्नो २ कठ्ठामा लगाएको धान बाली नष्ट गरेको उनले बताए ।

गत वर्ष यति खेतमा २५ मुरी धान फलेकोमा यस वर्ष ६ मुरी मात्र धान भित्र्याएको उनले बताए । ‘अघिल्ला वर्षमा धान पाक्दा फाट्टफुट्ट मात्र हात्ती आउँथे,’ उनले भने, ‘यस वर्ष निरन्तर आएर बाली खाने, कुल्चने गरेकाले उत्पादन ४ गुनाले घट्यो ।’ हात्तीले स्थानीय साधुराम सापकोटा, शरण अधिकारी, रामबहादुर राउत, गोमा विष्ट, होमबहादुर कोइराला, रामबहादुर कोइराला, राजकुमार लामिछाने, सुरेश पन्त, विष्णु पन्त, वीरबहादुर कुमाल, कुमार बल लगायतका किसानको गरी करिब २५ बिघा खेतको धानबाली नष्ट गरेको छ ।

यस वर्ष हात्तीले स्थानीय किसानको करिब १६ लाख मूल्य बराबरको धानबाली तथा धान नष्ट गरिसकेको उनले बताए । हात्तीले धान खाने क्रममा स्थानीय पठानी कान्छीको घरमा पनि क्षति पुर्‍याएको छ । हात्ती आउने क्रम नरोकिएपछि बाँकी धान जोगाउन स्थानीय रातभरी जाग्राम बसेर हात्ती धपाउने गरेका छन् । बेलाबेलामा स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले हात्ती धपाउने गरेको छ ।

स्थानीय प्रेम लामाका अनुसार हात्तीले ठोरी ३ बुद्धनगर र ब्रम्हनगरमा समेत स्थानीय किसानको ठूलो परिमाणको धानवाली नष्ट गरेको छ । १ वर्ष यता हात्तीले स्थानीय ३ जनाको ज्यान समेत लिएको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments