गाईको पनि जन्म-मृत्यु दर्ता, किसानलाई भत्ता

रुपन्देही , मान्छेको जन्म दर्ता, बसाइ सराइ र मृत्यु दर्ता गरेको सबैले सुनेको, देखेकै हो । तर रुपन्देहीको तिलोत्तमामा गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरिएको छ । त्यतिमात्र होइन, गाईको जन्म, बसाइ सराइ र मृत्यु दर्ता गराएबाफत किसानहरुले भत्तासमेत पाउँछन् ।

तिलोत्तमा नगरपालिकाले छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीनालीमा नोक्सानी हुने समस्या रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको हो ।

गाईको जन्म दर्ता, मृत्यु दर्ता र बसाइ सराइ गराउने किसानलाई नगरपालिकाले यातायात खर्चसमेत उपलब्ध गराउने नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । गाईको विवरण दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रतिगाईको तीनसय देखि ५ सय रुपैयाँसम्म भत्ता दिने सोच नगरपालिकाले बनाएको उनले बताए ।

किसानले दूध दिँदासम्म गाई पाल्ने र ब्याउन छाडेपछि गोठबाट निकालेर रातारात छोडिदिने परिपाटीले हैरान भएपछि नगरसभाको बैठकबाटै यस्तो नीति लिइएको हो ।

अब नगरपालिकाले गाई पालेका किसानको गोठ–गोठमा कर्मचारी खटाएर गाईको लगत लिने र दर्ता गराउने छ । तिलोत्तमामा व्यवसायीक गाई पालन बढ्दै गएसँगै छाडा गाईको संख्या पनि बढ्दै गएको छ ।

गाईको दर्ता गरेपछि छाडा छाड्न नदिन सम्भावित नाकाहरुमा नगर प्रहरी परिचालन गरिने नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको पशु बीमा कार्यक्रम अन्तर्गत बीमा गर्ने किसानलाई बीमाको ५० प्रतिशत रकम अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।

छाडा चौपायाका कारण नगरमा धेरै समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७४’ पनि जारी गरेको छ । कार्यविधिमा घरपालुवा चौपाया बेबारिसे छाड्नेलाई पहिलो पटक बढीमा तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ । गाई, गोरु–बाच्छाबाच्छी बेवारिसे छाडिएमा तीन हजार, राँगा, भैंसी–पाडा, पाडीको सात सय, बाख्रा, खसी, बोका, भेंडा, सुँगुर, बंगुरको पाँच सय जरिवाना गर्ने नियम नगरपालिकाले बनाएको छ । तिलोत्तमा नगरपालिकामा मूलतः छाडा गाई–गोरु र बाच्छा–बाच्छीको समस्या धेरै छ ।

‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’

नगरपालिकाले छाडा चौपाया नियन्त्रण अभियान सञ्चालन गरेर त्यस्ता चौपाया गौशालासम्म पुराउँदै आए पनि घरपालुवा चौपाया सडकमा आउने क्रम नरोकिँदा अभियान अपेक्षित रुपमा प्रभावकारी हुन सकेको छैन । नगरपालिका क्षेत्र भित्र जथाभावी छाडिने बेवारिसे छाडा पशु चौपायाले सडक एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा क्षति नियन्त्रण गर्दै ‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’ नारालाई व्यवहारमा उतार्नका लागि घर–गोठमा पालिएका पशु चौपायालाई छाडा छाड्ने प्रवृत्तिलाई रोक्न नगर कार्यपालिकाले कार्यविधि जारी गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

नगरपालिकाले जारी गरेको यो कार्यविधि विपरीत घर–गोठमा पालिएका पशु चौपायाहरु नियतवश घरबाट हटाउने उद्देश्यले सार्वजनिक स्थलमा वेवारिसे छाडिदिने गरेको पाइएमा नगरपालिकाले त्यस्ता पशु चौपाया धनीको यकिन पहिचान गरी पहिलो पटक बढीमा तीन हजार र पटक–पटक गरेमा क्रमशः ५० प्रतिशतका दरले बढाउँदै जरिवाना गरी नियन्त्रणमा लिइएका त्यस्ता छाडा पशु चौपाया सम्बन्धित पशुधनीकै जिम्मा लगाउने नियम नगरपालिकाले बनाएको छ ।

सूचना दिनेलाई पनि पुरस्कार

घर–गोठबाट पशु चौपाया हटाउने मनसायले त्यस्ता पशु चौपाया सार्वजनिक स्थलमा वेवारिसे अवस्थामा छाड्ने, छाड्न लगाउने कार्यमा संलग्न पशु चौपाया धनीको सूचना दिने व्यक्ति, संघ संस्थालाई त्यस्तो चौपाया धनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कार स्वरुप उपलव्ध गराउने व्यवस्था पनि नगरपालिकाले मिलाएको छ । सबैको सहयोग र सहकार्यविना छाडा चौपाया नियन्त्रण असभंव देखिएपछि नगरपालिकाले यस्तो नियम बनाएको हो ।

पालिएका चौपायाको बीमा गराइ उनीहरुको मृत्यु वा अनुत्पादक हुँदा पाइने क्षतिपूर्तिको लाभ लिन सम्पूर्ण पशुपालक किसानहरुमा आग्रह गर्दै नगरपालिकाले पशुको बीमा गर्दा लाग्ने शुल्कको आधा रकम व्यहोर्ने भएकाले यसबाट समेत थप लाभ उठाउन सम्पूर्ण किसानहरुलाई अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा झण्डै आठ सय किसानले नगरपालिकाबाट बीमा बापतको रकम लिएका छन् । बीमा गरेका पशुको मृत्यु भएमा वा अनुत्पादक भएमा क्षतिपूर्ति पाइने भएकाले छाडा छाड्नु नपर्ने नगरपालिकाको भनाइ छ ।अनलाइनखबर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments