टुटा भाइरसले गोलभेंडा नष्ट

सल्यान — छत्रेश्वरी गाउँपालिका–४, दारिमज्युलाका किसानले इजरायल प्रविधिबाट लगाएको गोलभेंडा टुटा प्युपा भाइरस नामक जीवाणुका कारण नष्ट भएको छ । पुतलीजस्तो जीवाणुले फल लागेको १३ हजार गोलभेंडाका बोट नष्ट भएको कृषि कार्यालयको भनाइ छ ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयले थोपा सिँचाइ गरेर गोलभेंडा तथा अन्य तरकारी खेती गर्न ५९ लाख रुपैयाँ अनुदान दिएको थियो । स्थानीय दारिमज्युला कृषि सहकारी संस्थाले ३२ लाख लगानी गरेको थियो ।

१५ रोपनी जग्गामा ३८ टनेल बनाई २७ किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका थिए । किसानले सबैभन्दा बढी गोलभेंडा लगाउँदै आएका थिए । गोलभेंडा र अन्य तरकारीबाट वार्षिक एक करोड आम्दानी गर्ने लक्ष्य भए पनि भाइरसका कारण करिब ३० लाखको नोक्सानी भएको सहकारीका अध्यक्ष केशबहादुर विष्टले बताए ।

उनका अनुसार किसानले पहिलो लटमात्रै ३/४ लाखको गोलभेंडा बिक्री गरेका थिए । त्यसपछि झुल तथा विषादी प्रयोग गरे पनि भाइरसबाट गोलभेंडा बचाउन सकिएन । फलामे डण्डीसहितको पक्की टनेल बनाई व्यावसायिक गोलभेंडा खेती गरिए पनि कहिले रोगले त कहिले भाइरसले फल लागेका गोलभेंडा सखाप भएपछि किसान निराश भएका छन् ।

लगानी राम्रो भए पनि टनेल निर्माणमा भएको प्राविधिक कमजोरी र प्रत्येक वर्ष लाग्ने रोगले सोचेअनुसार गोलभेंडा उत्पादन गर्न नसकेको किसान लालबहादुर केसीले बताए । ‘पहिलोपटक केही राम्रो उत्पादन भयो, त्यसपछि डढुवा रोगले सखापै पार्‍यो,’ उनले भने, ‘अहिले त भाइरसले झन् उठ्नै नसक्ने गरी हामीलाई थला पारेको छ ।’

अर्का किसान खुमबहादुर विष्टले भाइरसका कारण एकै पटकमा १०/१५ लाख घाटा व्यहोर्नुपरेको बताए । रोग लाग्नबाट बचाउन झुल प्रयोग गरे पनि काम नलागेको उनको भनाइ छ । ‘केही कमाइ होला र जीविकोपार्जन सहज होला भनेर भाडामा लिएर खेती सुरु गरियो,’ उनले भने, ‘तर एकवर्ष नबित्दै रोगले गोलभेंडा नासिएर निराश बनायो ।’

किसानले रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रसँग आग्रह गरेका छन् । ज्ञान केन्द्र प्रमुख अमरराज शर्माले दारिमज्युलाका साथै जिल्लाका अन्य ठाउँमा समेत किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । प्राविधिक कमजोरी र भाइरसले गर्दा किसानलाई ठूलो नोक्सानी भएको उनको भनाइ छ ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments