सुनसरीबाट भारत तर्फ सेटिङमा हुन्छ मरिचको तस्करी

सुनसरी । सुनसरीबाट दैनिक ठुलो परिमाणमा मरिच भारततर्फ तस्करी हुने गरेको खुलेको छ । नेपाली बजार भन्दा झण्डै दोब्बर मूल्यमा भारतीय बजारमा मरिच किनबेच हुनेहुँदा पछिल्लो समय सुनसरीबाट दैनिकजसो मरिचको तस्करी हुने गरेको खुल्न आएको हो ।

विशेष स्रोतले दिएको जानकारी अनुसार बिराटनगर लगायतका बजारबाट खरिद गरिएको मरिच सुनसरीको सीमावर्ती क्षेत्र सहित विभिन्न स्थानमा भण्डारण गरि सुरक्षाकर्मीसँगको मिलेमतोमा भारततर्फ तस्करी हुने गरेको छ ।

सुनसरीको रामनगर भुटाहा, देवानगञ्ज, कप्तानगञ्ज, साहेबगञ्ज, अमाहिवेल्हा, अमडुवा सहित भाण्टावारी नाकाबाट तस्करी हुने मरिच भारतको बथनाहा सोनापुर, घुर्ना, फुल्काहा, बसमतिया जस्ता बजार सम्म पुग्ने गर्छ । भारतीय व्यापारीले तस्करसँग मरिच खरिद गरी नेपाली बजार भन्दा दोब्बर मूल्यमा बिक्रि गर्ने गरेको स्रोतको दावी छ ।

हाल नेपाली सीमानाकाको बजारमा मरिचको मूल्य प्रतिकेजी ४ सय ५० देखि ६ सयको हाराहारी सम्म पर्ने स्थानीय व्यापारीहरु बताउँछन् । नेपाली नाका कटाएर भारतीय व्यापारी सम्म मरिच पु¥याउने तस्करले प्रतिकेजी ३० देखि ५० रुपैंया सम्म पाउने गर्छन् । भारतीय व्यापारीकहाँ पुगेपछि उनिहरुले सोही मरिच नेपाली मूल्यको तुलनामा दोब्बर दाममा बेच्ने गरेको जानकारहरु बताउँछन् ।

सुनसरीबाट भारततर्फ तस्कर हुने मरिच बिराटनगरको बजरङ्ग स्टोरबाट ल्याइने गरेको खुलेको छ । २५ केजीका दरले बोरामा प्याकिङ गरिएको मरिच दक्षिणी भेगका सुरक्षित स्थानमा भण्डारण पश्चात समयानुकुल सेटिङको समयमा ट्याक्टर र पिकअप भेनसहित

मोटरसाइकलमा भारततर्फ तस्करी हुँदै आएको दक्षिणी भेगको सीमाक्षेत्रका सर्वसाधारणहरु बताउँछन् । नेपाली भूमि तर्फका नेपाल प्रहरी र शसस्त्र प्रहरीको यूनिटसँगको सेटिङमा तस्करीको समय निर्धारण र रुट तय गरिने हुँदा तस्करहरुले निर्वाध रुपमा भारततर्फ मरिचको तस्करी गर्दै आएको स्रोतको दावी छ ।

दक्षिणी भेगका केही तस्कर र सुरक्षा स्रोतले समेत दक्षिणी भेगबाट मरिचको ठुलो कारोवार तस्करीका रुपमा हुँदै आएको स्विकारेका छन् । विशेषगरी रातीको समयमा मरिच तस्करी हुने स्रोतको भनाई छ । विशेष स्रोतले दिएको जानकारी अनुसार सुनसरीबाट हिरोल भगत, विजय गुप्ता, भुप यादव र गञ्जे चौधरी नाम गरेका व्यापारीहरुले मरिचको संगठित कारोवार गर्दै आएका छन् ।

भारतीय बजारकालागि भने स्थानीय भारतीय नागरिकहरु समसाद मियाँ, पहाडिया भन्ने अलाउद्धिन मियाँ र अमिन मियाँले थोक कारोवारीका रुपमा कारोबारी गर्दै आएका छन् । मरिच कारोबारमा संलग्न तस्करहरुले सशस्त्र प्रहरी वलको वोर्डर आउट पोष्ट र नेपाल प्रहरीको स्थानीय चौकीका साथै मातहत क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालयलाई दैनिक रकम बुझाउने गरेको स्रोतको दाबी छ ।News24Nepal

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments