कफीको गुणस्तर बढाऔं : मन्त्री खनाल

पोखरा – कृृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले नेपालमा उत्पादित कफीको गुणस्तर वृद्धि र उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् । १४औं राष्ट्रिय कफी दिवसको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको कफीको छुट्टै पहिचान बनिसकेकोले यसको छविलाई कायम राख्नुपर्ने बताए।

‘नेपालको कफी गुणस्तरमा अब्बल छ, हामीले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि गुणस्तर वृद्धिमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘नेपालमा कफीको सम्भावना निकै छ, यो नगदेबालीलाई व्यवस्थापन गर्न मन्त्रालयले योजना बनाएर अगाडि बढ्नेछ।’

तर, नेपालले निर्यात गर्ने नगदेबाली कफीको आयात पनि भइरहेको हुँदा उत्पादनमा जोड दिई कफी आयात रोक्नुपर्ने मन्त्री खनालले बताए । ‘कफीबारे जनचेतना पनि छ, हामीसँग नीति पनि छ, हामीले सुपरजोन बनाएका छौं, सुपरजोनलाई आगामी वर्ष अझै बढी बजेट विनियोजन गरेर अगाडि बढिनेछ,’ उनले भने।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गुल्मी, स्याङ्जा, अर्घाखाँची, प्यूठान र पाल्पालाई कफीको सुपरजोनमा राखेको छ । सुपरजोनलाई योजना, बजेट तथा कर्मचारीको अभाव नहुने उनले थपे।

कफी किसानको समस्या न्यूनीकरण गर्न तथा उनीहरुको गुनासो तत्कालै व्यवस्थापन गर्न गुनासो व्यवस्थापन समितिमा तत्कालै सम्पर्क गर्न उनले सुझाव दिए । यस्तै, मन्त्रालयले स्पष्ट नीति बनाउने, आगामी वर्ष बजेट बढाउने, प्रविधिलाई प्रयोग गर्ने र किसानहरुलाई प्राथमिकता दिइने उनले प्रतिबद्धता व्यक्त गरे । कफीमा देखिने प्रकोप न्यूनीकरण तथा समस्या समाधानको निमित्त मन्त्रालयले पहल गर्ने उनको भनाइ थियो।

गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कफी प्रादेशिक गौरवको योजना बन्न सक्ने बताए । ‘प्रदेश सरकारले गौरवको योजनामा राख्ने, बाँझो जमिनमा कफी खेतीलाई प्रोत्साहन गर्ने, अर्गानिक कफी उत्पादन गरि ठूलो बजार केन्द्र बनाउन सकिन्छ,’ उनले भने, ‘हामी विशेष कार्ययोजना बनाएर लाग्नेछौं, गण्डकी प्रदेश कफीको हब बन्न सक्छ।’

कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले कफीमा लाग्ने प्रकोप तथा बगैंचा व्यवस्थापनमा सजगता अपनाउन सुझाव दिए । प्रदेशको कृषि मन्त्रालयका सचिव शरद्चन्द्र श्रेष्ठले कृषकको वर्गीकरण गरी मन्त्रालयले कफी व्यवसायलाई अगाडि बढाउन कार्ययोजनामा राखेको बताए।

कफीको खेती विस्तार गर्न सहयोग भइरहेको राष्ट्रिय कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले कफी बिमाको कार्यक्रम राज्यस्तरबाटै हुनुपर्ने बताए । उनले कफीलाई रोजगार र उत्पादनमा लगाउनुपर्ने बताए । उत्पादित कफीको बजार समस्या नभएकाले कफी खेतीमा लाग्नुपर्ने राष्ट्रिय कफी विकास बोर्डका योजना अधिकृत गौरव लुइँटेलले बताए।

कार्यक्रममा उत्कृष्ट कफी कृषक, संस्थागत कार्यालय, निर्यातकर्ता लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको पूर्वसन्ध्यामा सांस्कृतिक झाँकीसहित र्याली पनि निकालिएको थियो।नागरिक

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments