गोलभेडा खेतीबाट मनग्य आम्दानी

अमरगढी: स्वदेशमा रोजगारी नपाएको र व्यवसाय गर्ने वातावरण नभएको भन्दै युवा विदेशिने क्रममा कमी आएको छैन तर, विदेशमा भन्दा स्वदेशमा नै धेरै सम्भावना देखेर गाउँ फर्किएका डडेल्धुराको भागेश्वर गाउँपालिकाका ४ का मदनराज चटौत धेरैका लागि प्रेरणा बनेका छन् ।

चार वर्षसम्म विदेशमा बस्दा पनि आम्दानी र श्रमबाट सन्तुष्ट हुन नसकेका चटौत अहिले गाउँपालिका भित्रकै नमुना कृषकको रूपमा परिचित बनेका छन् । अर्काको भूमिमा बसेर पसिना बगाउनुभन्दा नेपालमै केही गर्ने भन्दै नेपाल फर्किएका उनले गोलभेडा खेती शुरु गर्नुभयो । चटौतले पाँच वर्षदेखि सात रोपनी जग्गामा गोलभेडा खेती गर्दै आउनुभएको छ । गोलभेडाबाट राम्रो आम्दानी हुँदा र उत्पादित गोलभेडाले बजारमा राम्रो ठाउँ पाएका कारण उनलाई आजभोलि विदेशी भूमि सम्झिन पनि मन लाग्दैन ।

‘त्यो ठाउँ सम्झिन मन लाग्दैन । आफ्नै पाराले काम गर्ने अनुमति छैन । अरूको आदेशबिना सास फेर्न पनि नपाइने,’ विदेशमा भोगेको दुःख पोख्दै उहाँले भन्नुभयो ‘गतवर्ष मात्र १० लाखको गोलभेडा बेचेँ । पाँच लाख रुपियाँ खर्च कटाएर पाँच लाख बचत भयो ।

खाद्य बालीभन्दा तरकारीमा बढी फाइदा हुँदा मौसमी र बेमौसमी अर्गानिक गोलभेडा खेती तथा अन्य तरकारी खेतीप्रति आकर्षित भएको उहाँको भनाइ थियो । उत्पादन गरेको सबै गोलभेडा गाउँपालिकाभित्रै बिक्री हुन्छ । गोलभेडाले राम्रो भाउ र बजार पाएका कारण पसिना बगाउँदा मख्ख देखिएका चटौत भन्नुहुन्छ ‘खेती सुरु गर्ने बेलामा त बिक्री हुँदैन कि भन्ने चिन्ता लागेको थियो तर आजभोलि पु¥याउन नै मुस्किल हुन थालेको छ ।

गोलभेडा खेतीबाट खुसी मिले पनि गाउँमा सिँचाइको व्यवस्था नभएका कारण उहाँलाई खेतीमा केही अप्ठ्यारो परेको छ । आवश्यक मात्रामा पानीको मात्रा नपाउँदा भण्डारण गरेको पानीले काम चलाउनुपर्नेसम्मको अवस्था रहेको उहाँको पीडा छ ।

रहर लाग्दो र फराकिलो जमिनमा आकर्षक तरिकाले व्यावसायिक गोलभेडा खेती गर्दै आएका चटौतले विदेशिएका युवालाई आफ्नै देशमा पसिना बगाउन सुझाव दिने गर्छन् । ‘यहाँ साहूसँग चर्को ब्याजमा ऋण लिएर विदेशमा तातो घाममा पसिना बगाउनुभन्दा यही देशमा कृषिमा पसिना बगाउने हो भने जीवन सार्थक बन्ने उनको बुझाइ छ ।
गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments