चियाको ट्रेडमार्क कागजमै सीमित

काठमाडौं – नेपालमा उत्पादित अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’ तयार गरे पनि कार्यान्वयनमा आउन सकेको छैन। यसले चियाको ब्रान्ड स्थापितमा समस्या भएको छ। विदेशी क्रेताको उपस्थितिमा गत वर्ष चैतको अन्तिम साता सगरमाथा आधार शिविर नजिकै स्याङबोचे लगेर ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्ड सार्वजनिक गरिए पनि अहिलेसम्म प्रयोगमा आएको छैन।

बोेर्डले अमेरिका, अस्ट्रेलिया, चीन, जापान, फ्रान्स, क्यानडा, जर्मनी, रुस, डेनमार्क, भारतलगायत मुलुकका कफी क्रेतालाई सगरमाथा आधार शिविरमा लगेर नेपाली अर्थोडक्स चियाको स्वाद चखाउँदै ब्रान्ड सार्वजनिक गरेको थियो।
नेपाली चियाको मार्केटिङ र ब्रान्डिङ गर्न ट्रेडमार्क सार्वजनिक गरे पनि कार्यान्वयन नहुँदा चिया उद्योगी निराश छन्। बोर्डले नेपाली अर्थोडक्स चिया सर्टिफिेकसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४ जारी गरिसकेको छ।

ट्रेडमार्क प्रयोगमा नआउँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहिचान बन्न नसकेको हिमालयन सांग्रिला टी प्रोड्युसर प्रालिका निर्देशक कमल मैनालीले बताए। ‘नेपालमा कानुन धेरै आउँछन्, कार्यान्वयन हुँदैन,’ मैनालीले भने, ‘चिया लोगोको विषय पनि त्यस्तै भएको छ।’

उक्त लोगो कसले प्रयोग गर्ने भन्ने गलत बुझाइले केही विरोधका स्वर आएको उनले बताए। ‘सबै नेपाली चियाले प्रयोग गर्ने भएकाले विवाद गर्नुपर्ने अवस्था छैन,’ मैनालीले पस्ट्याए। यो कार्यान्वनयमा ल्याउन बोर्ड, कृषि तथा पशुपक्षी मन्त्रालयले पहल गर्नुपर्ने चिया उद्योगीको माग छ।

अहिले उद्योगीले आफू अनुकूल तेस्रो मुलुकमा निर्यात गरिरहेको अवस्थामा नेपालको लोगोसहित निर्यात गर्न सके अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुट्टै पहिचान हुने उद्योगी बताउँछन्। ‘नेपाली चियाको लोगो भए गुणस्तरमा विश्वास आर्जन गर्न सजिलो हुन्छ,’ मैनालीले भने, ‘विदेशी बायर (क्रेता) को विश्वास जित्न सजिलो हुन्छ।’

अहिले पनि नेपालको चिया दार्जिलिङलगायत बाहिरका व्यापारीले आफ्नो लोगोमा बिक्री गर्दा स्वदेशी उत्पादकले अपेक्षित मूल्य पाउन सकेका छैनन्। ‘एउटै ट्रेडमार्क भए महत्व बढेर महँगोमा बिक्री हुन्थ्यो,’ उनले भने, ‘यसको फाइदा किसानसम्म पुग्छ।’

बोर्डले ट्रेडमार्क दर्ता गरेर कार्यविधि बनाएकाले यो वर्षबाट ट्रेडमार्क प्रयोगमा आउने बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए। ‘साना व्यवसायीका केही गुनासा आए पनि छलफलबाट सुल्झाएका छौं,’ गौतमले भने, ‘मापदण्ड पूरा गरेका चिया उत्पादकले प्रयोग गर्न पाउँछन्।’

यसअघि नेपाली चिया दार्जिलिङलगायत विभिन्न ट्रेडमार्कमा विदेशमा बिक्री हुँदै आएको थियो। नेपालको चियाप्रति विदेशीको आकर्षण बढाउन एउटै ट्रेडमार्क बनाएको बोर्डका योजना अधिकृत गौरव लुइँटेलले बताए। ट्रेडमार्क प्रयोग गर्न भने उत्पादकले प्रक्रिया पुर्याउनु पर्छ। ‘चिया टिप्दादेखि प्रशोधनसम्म तोकिएका मापदण्ड पूरा गरेपछि नेपाल चियाको ब्रान्ड प्रयोग गर्न पाइन्छ,’ लुइँटेलले भने, ‘यो ब्रान्डलाई विदेशीले राम्रो मूल्यमा खरिद गर्छन्।’

नेपालबाट वार्षिक करिब तीन अर्ब रुपैयाँको चिया निर्यात हुँदै आएकोमा अब अझै बढ्ने अपेक्षा गरिएको छ। नेपाली चिया आफ्नै ब्रान्डमा निर्यात हुने अपेक्षामा किसान छन्। उद्योगीले ट्रेडमार्क प्राप्त गर्न बोर्डमा निवेदन दिनुपर्ने छ। सरकारले तयार गरेको मापदण्डअनुसार चिया गुणस्तर जाँच गरेपछि मात्र ट्रेडमार्क दिइनेछ। ट्रेडमार्क पाउन रसायनिक विषादी प्रयोग नगरेको बगानमा उत्पादन भएको चिया हुनुपर्छ। चियाको बजार प्रवद्र्धन गर्न सरकारले सघाउँदै आएको छ। नेपाली चियाले ठूलो मात्रामा रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्न सघाएको बोर्डका कार्यकारी निर्देशक गौतम बताउँछन्।

नेपालका १४ जिल्ला ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यावसायिक चिया खेती छ। हाल नेपालमा १२ हजार ६६ हेक्टरमा नौ हजार दुई सय ३६ वटा चिया बगान छन्।

आठ हजार आठ सय ३८ हेक्टरमा परम्परागत र एक हजार एक सय हेक्टरमा अर्गानिक चिया खेती छ। मुलुकमा एक करोड ६० लाख ३६ हजार किलो सिटिसी र २६ लाख ७० हजार किलो अर्थोडक्स चिया उत्पादन हुन्छ। अहिले यहाँ उत्पादित सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ। १४ जिल्लामा ११ करोड ६७ लाख ५१ हजार चियाका बोट छन्। वार्षिक १० करोड ८० हजार किलो हरियो चियापत्ती उत्पादन हुने यसबाट दुई करोड २२ लाख ४० हजार किलो प्रशोधित चिया तयार हुने बोर्डले जनाएको छ।

इलाममा एक करोड ५९ लाख ७१ हजार, झापामा आठ करोड २५ लाख १७ हजार, पाँचथरमा सात लाख ६५ हजार, धनकुटामा तीन लाख नौ हजार, तेह्रथुममा एक लाख ५१ हजार र बाँकी नौ जिल्लामा तीन लाख ६८ हजार किलो हरियो पत्ती चिया उत्पादन हुँदै आएको छ।नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?