हिमाली जिल्लालाई जापानी चामल

नेपालगञ्ज, कर्णाली प्रदेश र प्रदेश ५ का दुर्गम पहाडी जिल्ला तथा हिमाली जिल्लाका जनताका लागि जापानी अनुदानको करिब दस हजार क्विन्टल चामल नेपालगञ्ज आइपुगेको छ । जापान सरकारले आफ्ना जनतामार्फत सङ्कलन गरी खाद्यान्न अभाव हुने दुर्गमका नेपालीका लागि पठाउँदै आएको चामलमध्ये हालसम्म दस हजार क्विन्टल चामल नेपालगञ्ज आइपुगेको यहाँस्थित नेपाल खाद्य संस्थानको कार्यालयले जनाएको छ ।

जापानबाट आएको चामलमध्ये १२ हजार चार सय क्विन्टल चामल नेपालगञ्जका लागि छुट्याइएको जनाउँदै नेपाल खाद्य संस्थान अञ्चल कार्यालय भेरीका नेपालगञ्जस्थित कार्यालय प्रमुख हरिप्रसाद जोशीले त्यसमध्ये दस हजार क्विन्टल यहाँ पुगिसकेको र अरू दुई हजार चार सय क्विन्टल चामल एक दुई दिनभित्र आइपुग्ने बताउनुभयो ।

‘फ्रम द पिपुल अफ जापान’ लेखिएको जापानी झण्डा अङ्कित बोरामा प्याक गरेर पठाइएको सो चामललाई आवश्यकता र मागबमोजिम यस क्षेत्रका पहाडी तथा दुर्गम हिमाली जिल्लामा पठाइने उहाँले बताउनुभयो । कर्णाालीका हुम्ला, मुगु, कालिकोट, जुम्लालगायतका जिल्लामा बर्सेनि खाद्यान्न अभाव हुने गरेकोले जापानी अनुदानको चामल तथा खाद्य संस्थानले नेपालगञ्जमा धान खरिद गरेर तयार गरेको चामल ती जिल्लामा पठाउने गरिएको छ ।

जापानी अनुदानको सो चामल नेपालगञ्ज पुगेपछि अहिले संस्थानको नेपालगञ्जस्थित गोदाममा चामल अनलोड गरेर राख्ने कार्य भइरहेको छ । गत वर्षको चामलसमेत गोदाममा राखिएको जनाउँदै सो चामल पनि यो वर्ष बिक्री गरिने प्रमुख जोशीले बताउनुभयो । केही महिनाअघि मात्र नेपाल खाद्य संस्थानले जाजरकोट पठाएको जापानी चामल महँगो भएकोले बिक्री भएको छैन । स्थानीय जनताले चामल महँगो भएकोे जनाउँदै नकिनेपछि संस्थानको जाजरकोट घोगीस्थित डिपोले एक वर्षदेखि ९३६ क्विन्टल चामल थन्किएको जानकारी गराएको थियो । मूल्य बढी भएकोले उक्त डिपोले वर्षमा चार क्विन्टल मात्रै चामल बिक्री गरेको थियो ।

डोल्पालगायतका जिल्लाबाट महँगो भएको गुनासो आएपछि यस वर्षबाट मूल्य घटाउने तयारी भइरहेको संस्थानका प्रमुख जोशीले बताउनुभयो । उहाँले छिटै मूल्य घटाइने र त्यसपछि बिक्री बढ्ने बताउनुभयो । जापान सरकारले नेपाललाई सन् २०१० सम्म दिँदै आएको खाद्यान्न सहयोग बीचमा केही वर्ष रोकिए पनि गत वर्षबाट पुनः शुरु गरेको थियो । अघिल्ला वर्षमा एक लाख क्विन्टल चामल पठाउने जापान सरकारले पछिल्ला आधा कटौती गरी ५० हजार क्विन्टल चामल पठाउन थालेको हो । त्यसमध्ये २५ हजार क्विन्टल काठमाडौँमै राखेर सरकारले आधा चामल नेपालगञ्ज पठाउने गरेको संस्थानले जनाएको छ ।
चामल माग अनुसार, भेरी र कर्णालीका विभिन्न दुर्गम तथा हिमाली जिल्लामा सरकारले तोकेको मूल्यमा संस्थानले डिपोमार्फत बिक्री गर्दै आएको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments