दम्दालाका सुन्तला सुके

जाजरकोट — दम्दालामा गभारो रोग लागेर सुन्तला सुकेका छन् । यसले त्यहाँका किसानको आम्दानी दोब्बर घटेको छ ।

कुशे ५ दम्दालाका शक्तिबहादुर ओलीले गत वर्ष सुन्तलाबाट १० लाख आम्दानी गरेका थिए । यो वर्ष उनले ४ लाख पनि बचाउन सकेनन् । अर्का कृषक कर्णबहादुर थापाको पनि सुन्तलाको आम्दानी आधाले घटयो ।

वली र थापा मात्र हैन, सुन्तलाको आम्दानी घटेपछि दम्दाला गाउँका करिब ७५ घरधुरी कृषक मर्कामा परेका छन् । व्यावसायिक सुन्तला खेती गरिरहेका किसानको बगैंचामा गभारो रोग लागेपछि उत्पादन घटेको हो । सुन्तलाका बोट र पात सुक्ने तथा दानाहरू कालो भएर कुहिने समस्याका कारण यो वर्ष उत्पादन घटेको ओलीले बताए ।

उनका बगैंचामा एक हजार सुन्तलाका बोट छन् । सुन्तला फूल खेल्ने समयमा खडेरी परेकाले दाना परिपक्व नभएरै बोटबाटै झर्ने समस्या भएको उनले जनाए । ‘दम्दाला गाउँ व्यावसायिक सुन्तला खेतीको क्षेत्र भए पनि यस वर्ष रोगले समस्या भयो,’ उनले भने, ‘व्यावसायिक खेती गरिरहेका हामी किसान मर्कामा परेका छौं ।’

सुन्तलाका बोटमा गभारो रोग लागेको स्थानीय किसानको भनाइ छ । गत वर्ष ८ करोडको सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष आधा पनि उत्पादन हुन नसकेको कृषि प्राविधिकले बताए ।
गभारोले बगैंचामा लगाएका सुन्तलाका बोट सुक्दै गएपछि किसान चिन्तित छन् ।

सुन्तलाको उत्पादनको राम्रो सम्भावना भएको कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ को क्षेत्रलाई मिलाएर गत वर्ष सुन्तला जोन स्थापना भएको थियो । जोन क्षेत्रमा यसै वर्ष सुन्तला उत्पादन घट्नु दु:खद भएको स्थानीय डिल्ली थापाले बताए ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना गरेको सुन्तला जोन कार्यक्रमले किसानलाई राहत दिन नसकेको उनको गुनासो छ । ‘कार्यक्रमले सुन्तला किसानका समस्या समाधान गर्ने, नियमित रूपमा सुन्तला बगैंचाको रेखदेख, अनुगमन तथा निरीक्षण र उपचारको व्यवस्था गर्न सकेन,’ उनले भने, ‘अधिकांश किसान लगानी डुब्ने चिन्तामा छन् ।’

किसानहरूले सुन्तलाको बोट लगाउन नजानेका कारण बोट सुक्ने समस्या देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोनका प्रमुख टंक रिजालले बताए । सुन्तलाका बोट लगाउँदा ठूलो खाडल नबनाएका कारण सुन्तला बोटका जराहरू ढुंगा तथा चट्टानमा ठोकिएका कारण अहिले समस्या देखिएको उनले जनाए ।

‘सुन्तलाको बोटमा पात र डाँठ सुक्ने तथा फल कालो हुने समस्या देखिएको छ,’ रिजालले भने, ‘गत वर्षमा जिल्लाभर पाँच हजार सुन्तलाका बोट लगाइएको छ ।’ उनका अनुसार जिल्लाको १ सय ८० हेक्टर जमिनमा सुन्तला खेतीभइरहेको छ । जिल्लामा पाँच सय हेक्टर जमिनमा सुन्तला खेती गर्ने कार्यक्रम रहेको उनले जनाए ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?