अर्गानिक चिया प्रमाणीकरणको भार थेग्नै मुस्किल

इलाम, नेपाली चिया तेस्रो मुलुक निर्यात गर्ने अभ्यास हुन थालेको केही वर्ष मात्र हुँदैछ । निर्यात भएको चियाबाट विदेशी मुद्रा आर्जन गर्न निकै सजिलो भएको देखिन्छ तर निर्यात गर्ने चियाको सर्त पूरा गर्न भने किसानलाई निकै कठिन हुन थालेको छ । ग्रीन टी, गोल्डन टी, ह्वाइट टी, ओलङ टीलगायत विभिन्न स्वादमा बनाइने चिया विदेशीले धेरै मन पराए पनि उनीहरूको एउटै मात्र सर्त अर्गानिक चियाको मापदण्ड पु¥याउन भने किसानले लाखौँ खर्चेर, वर्षौं कुर्नुपर्ने हुन्छ ।

विदेशीले अर्गानिक चिया नै रुचाउन थालेपछि साना किसान, सहकारी तथा उद्योग आफैँले चियालाई पूर्ण अर्गानिक बनाउने अभ्यास गरिरहेका छन् तर कम्तीमा तीन–चार वर्ष अर्गानिकको यो अभ्यास गरिरहँदा खर्च धान्न भने निकै मुस्किल पर्ने गरेको किसान बताउँछन् । अहिलेसम्म साँखेजुङस्थित साङ्ग्रिला चिया कारखाना, सुन्दरपानीको गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजङ्घा टी स्टेट, माइपोखरीको सन्दकपुर चिया कारखाना, जसवीरे चिया कारखाना, देउमाइको ब्रदर्स चिया उद्योगले विदेशी संस्थाहरू नासा, आईओएम र सेरेसबाट अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र लिइसकेका छन् ।

यस्तै साँखेजुङको उच्चपहाडी चिया उत्पादक सहकारी संस्था, गोर्खा टी स्टेटअन्तर्गत सुन्दरपानी चिया उत्पादक सहकारी संस्था, कोलबुङस्थित इको सहकारी संस्था, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाले नासाबाट अर्गानिक प्रमाणीकरण गरिसकेका छन् । साँखेजुङको ग्रिनहिल, चमैताको तिनजुरे सहकारी संस्था, फिक्कलको इलामेली चिया उत्पादक सहकारी संस्था, जीतपुरको अजम्बरे, देउराली र नवमी चिया उत्पादक सहकारी संस्थाले भने अर्गानिक प्रमाणीकरणका लागि युरोपियन अर्गानिक एजेन्सी सेरेस र आईओएमबाट अर्गानिक प्रमाणीकरण प्राप्त गर्ने अन्तिम चरणमा रहेको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ ।

पहिलोपटक अर्गानिक प्रमाणीकरण गराउन कम्तीमा पनि नौ लाख रुपियाँ खर्चनु पर्छ, साँखेजुङस्थित कञ्चनजङ्घा चिया प्रशोधन कारखानाकी सञ्चालक मिलनकुमारी खत्रीले भन्नुभयो, अर्को वर्ष अर्गानिक प्रमाणपत्रको नवीकरण गर्न पनि अढाइ–तीन लाख रुपियाँ लाग्छ, हामीले पूर्ण अर्गानिक गरे पनि त्यसको प्रमाणीकरणको भार थेग्न मुस्किल छ । जसवीरे चिया कारखानाका सञ्चालक शरद सुब्बा पनि अर्गानिक प्रमाणीकरण गराउन खर्चिलो भएकाले पनि किसानले पाउने हरियोपत्तीको मूल्य पनि घटाउनुपर्ने बाध्यता रहेको बताउनु हुन्छ । बर्सेनि लाखौँ रुपियाँ खर्च गर्नुपरेपछि त्यो रकम जोहो गर्न पनि मुस्किल छ, सुब्बाले भन्नुभयो, नेपालमै अर्गानिक प्रमाणीकरणको व्यवस्था भइदिए अथवा हामीजस्ता साना किसान र उद्योगीलाई सरकारबाट केही सहयोग भइदिए विदेशबाट आएको चियाको माग नेपाली चियाले धान्न सक्ने थियो । नेपालमा भने अहिलेसम्म अर्गानिक प्रमाणीकरण गर्ने कुनै प्रयोगशाला स्थापना हुन नसकेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहाल बताउनुहुन्छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments