खोलैभरि अलैंची

रुकुम पश्चिम — मुसीकोट नगरपालिका १० माछापोखरीका केशवबहादुर रोकाको बारीमा ५० हजार अलैंचीका बोट छन् । घर नजिकैका खोला र पाखोमा उनले अलैंची लगाएका हुन् ।

पानी बगिरहने खोलाको छेउछाउ र उत्तर फर्केको ओसिलो भूभागभरि रोकाले अलैंची रोपेका छन् । सोही वडाको जुगेखोर्‍याका एक्कबहादुर खडकाले पनि ओसिलो भूभाग खाली नहुने गरी अलैंची लगाएका छन् । घरमुनिको खोला र ओस भइरहने बारीमा गरी खडकाले ७ हजार बढी अलैंचीका बोट लगाएका छन् ।

रोका र खड्का मात्रै होइन गाउँका २६ किसानले खोला र पाखामा अलैंची लगाएका छन् । २६ व्यावसायिकसहित अन्य किसानका तीन लाख बढी अलैंचीका बोट वडामा छन् । उनीहरूले गलमपाटी खोला, चुनखोला र भेरीखोलाका आसपासमा रहेको जग्गा र पाखामा अलैंची लगाएका छन् । ०४५ देखि नै यहाँ अलैंची लगाउन थालिएको हो ।

सुरु–सुरुमा सोखका रूपमा अलैंची खेती गरिए पनि ०७० देखि भने किसानले अलैंचीलाई व्यावसायिक खेतीका रूपमा थालेका थिए । ‘अलैंची महँगोमा बिक्री हुन थालेदेखि हामी व्यावसायिक बन्यौं,’ रोकाले भने, ‘०७० देखि अहिलेसम्म पनि व्यावसायिक रूपमा अलैंची लाउने किसानको संख्या हरेक वर्ष बढेकै हुन्छ ।’ वडामा रहेका तीन लाख बढी बोटमध्ये अहिले आधा बोट जति फल्नलायक भएको रोकाले जनाए ।

यो क्षेत्रमा अलैंचीले राम्रो उत्पादन दिने गरेको छ । अलैंची राम्रो फल्ने र मूल्य पनि राम्रो पाइने भएपछि आफूहरू अलैंची खेतीतर्फ आकर्षित भएको खडकाले बताए । ‘एक किलो अलैंचीलाई २ हजार २ सयसम्म मूल्यमा बिक्री गरेका छौं,’ उनले भने, ‘एउटै बोटबाट ३ किलो बढी अलैंची पनि गाउँलेले फलाएका छन् ।’ उनका अनुसार अलैंचीको खेती विस्तार हुँदै गएको छ । दुई वर्षयता अलैंचीले भाउ पाएको छैन । केही वर्ष महँगोमा अलैंची बिक्री गरेका किसानले यो वर्ष भने अघिल्लो वर्षभन्दा कम मूल्यमा बिक्री गरे । केही किसानले भाउ नपाएको भन्दै अलैंची बिक्री गरेका छैनन् । कतिले दाङसम्म लिएर अलैंची बिक्री गरेका छन् ।

अलैंचीले यो वर्ष भाउ नपाए पनि किसान भने निरास भएका छैनन् । अलैंचीको खेती विस्तार तथा धेरै उत्पादनमा मात्रै किसानले ध्यान पुर्‍याएका छन् । ‘यो वर्ष नपाए पनि आउने वर्षमा अलैंचीले भाउ कसो नपाउला र ?’ खडकाले आशा व्यक्त गरे, ‘हाम्रो बारीमा राम्रो फल्नेमध्येका एउटा बाली यही हो । त्यसैले हामी निरास छैनौं ।’

अलैंचीका लागि आवश्यक सिँचाइ र बजार व्यवस्थापनमा समस्या रहेको किसानले बताएका छन् । स्थानीय सरकार तथा वडा कार्यालयले पर्याप्त सिँचाइ र फलेको अलैंचीको बजार खोजिदिनुपर्ने माग किसानको छ । वडा कार्यालयले पनि अलैंची खेती विस्तारमा जोड दिएको छ । गत आर्थिक वर्षमा वडा कार्यालयले २५ हजार अलैंचीका बिरुवा वितरण गरेको थियो भने तीन लाख खर्चेर दुई सिँचाइ योजना निर्माण गरेको थियो । यो वर्ष अलैंचीलगायत वडामा हुने अन्य खेतीको अध्ययनको कार्यक्रम वडा कार्यालयले जनाएको छ ।

वडामा हुने अलैंचीसहित सुन्तला र अन्य खेतीको विस्तृत विवरण संकलन गरेर थप कार्यक्रम बनाउने उद्देश्य रहेको वडा सदस्य धनबहादुर खड्काले बताए । ‘आगामी वर्षमा नीति तथा योजना निर्माणमा सजिलो बनाउनका लागि यो वर्ष विवरण संकलन गर्ने योजना बनाइएको छ,’ वडा सदस्य खड्काले भने, ‘प्राप्त विवरण र अवस्थाका आधारमा हामी कार्यक्रम तय गर्नेछौं ।’कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments