बारीमै सुक्न थाल्यो उखु

नवलपरासी, हरेक वर्ष मङ्सिरमा शुरु हुने उखुको क्रसिङ दुई महिना बितिसक्दा पनि हुन नसकेपछि किसानको उखुबारीमा सुकेर जान थालेको छ । हरेक वर्ष मङ्सिरको पहिलो हप्ता शुरु भएर माघ मसान्तसम्म क्रसिङ सक्ने भए पनि यो वर्ष मिल सञ्चालकले उखु लिन नमानेपछि उखुबारीमा सुकेर जान थालेको जिल्ला उखु उत्पादक सङ्घका अध्यक्ष उमेश यादवले बताउनुभयो । गत पुसको पहिलो हप्तामा महोत्तरीको बर्दिबासमा बसेको बैठकले उखु उठाउन मिल सञ्चालकहरू सहमत भए पनि उनीहरूले अहिलेसम्म उखु नउठाउँदा किसान ठूलो समस्यामा परेको अध्यक्ष यादवले बताउनुभयो ।
उखुको मूल्य सरकारले यो वर्ष मिलगेटका लागि रु. ५३६।५६ पैसा तोके पनि सो रकम धेरै भएको भन्दै उखु मिल सञ्चालकले उखु लिन नमानेपछि यहाँको लाखौँ क्विन्टल उखु सुकेर जान थालेको किसानले बताएका छन् । मिल सञ्चालकले सो दरमा उखु लिने हो भने चिनीको मूल्यमा फेरबदल हुनुपर्ने माग राख्दै आएका कारण दुई महिना क्रसिङ हुने समय गएकाले यो वर्ष बारीमै उखु सुकेर जाने खतरा बढेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
मङ्सिरको पहिलो हप्ताबाट सधैँका वर्षझैँ सञ्चालनमा आउने जिल्लाका तीन चिनी उद्योगले अहिलेसम्म उखु लिन नमान्नुले यो वर्ष उखु सबै सुकेर जाने भन्दै अध्यक्ष यादवले चिन्ता व्यक्त गर्नुभयो । नवलपरासी पश्चिममा रहेका बागमती खाँडसारी चिनी मिल, इन्द्रावती सुगर मिल र लुम्बिनी चिनी मिल सञ्चालनमा रहे पनि अहिलेसम्म ती मिलले उखु लिन नमान्दा ठूलो समस्या उत्पन्न भएको जिल्ला उखु उत्पादक सङ्घले जनाएको छ ।
उखु क्रसिङ गर्न तीन महिनाको समय लाग्ने भएकाले सधैँका वर्षमा मङ्सिर, पुस र माघमा किसानले उखु बिक्री गरिसक्थे तर अहिले दुई महिनामा कुनै क्रसिङको काम भएन अब एक महिनामा सकिने सम्भावना छैन, अध्यक्ष यादवले भन्नुभयो, बारीमा सुक्न थालेको उखुले किसानलाई ठूलो घाटा व्यहोर्न बाध्य बनाउनेछ ।
गत वर्षको पनि झण्डै चार करोड ५० लाख भुत्तानी पाउन अझै बाँकी रहेका यहाँका उखु किसानले यो वर्ष उखु बिक्री गर्न पाउने हुन् कि होइनन् दोधारमा परेको उनीहरूले गुनासो गरेका छन् । किसानलाई यसपालिको समय निल्नु न ओकल्नुभएको छ ।
द्योग र कृषक समितिबीच सहमति भए पनि उद्योगले अझैसम्म उखु लिन इन्कार गर्दै आएको र यहाँका १३ हजार कृषकले लगाएको उखुबारीमै सुक्न थालेपछि उनीहरूमाथि ठूलो अन्याय भएको अध्यक्ष यादवले बताउनुभयो । एक वर्षअघिको झण्डै चार करोड ५० लाख रकम अहिलेसम्म नपाएको र यो वर्ष अझैसम्म पनि उखु लिन नमान्नुले आक्रोशित उखु किसानले यो क्षेत्रबाट नै चिनी मिल हटाएर छाड्ने चेतावनी दिन थालेका छन् ।
यहाँका उखु कृषकले गत वर्षको भुत्तानीको माग गरे पनि चिनी मिलहरूले पूरै बेवास्ता गरेको भन्दै अब उखु बिक्री गर्ने समयसमेत घर्किदै जान थालेपछि उखु पनि नलिने र गत वर्षको रकमसमेत दिन उद्योगले आलटाल गरेकाले कडा आन्दोलनको विकल्प नरहेको उखु उत्पादक कृषक समितिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासीमा तीन चिनी उद्योग छन् । ती उद्योगले १३ हजार किसानले लगाएको उखु अझै लिन मानेका छैनन् भने अब सबै किसान सडकमा उतारेर अनिश्चितकालीन राजमार्ग बन्द गर्ने समितिले जनाएको छ । सरकारले उखुको समर्थन मूल्य तोके पनि अहिलेसम्म उद्योगीले सोअनुसार उखु लिन नमान्दा समस्या भएको किसानले बताएका छन् ।
यहाँका किसानले अबदेखि समयमै उखुको सम्पूर्ण रकम पाउनुपर्ने, सरकारबाट उपलब्ध गराइने अनुदान रकम मूल्यसँगै समायोजन गरी भुक्तानीको व्यवस्था गर्नुपर्ने माग राखेका छन् भने उद्योगले सबै माग पूरा गर्ने सहमति पटक–पटक गरे पनि कार्यान्वयन नभएको भन्दै किसान आक्रोशित भएको उखु किसान प्रेमचन्द्र गुप्ताले बताउनुभयो ।
सरकारले गत वर्षको उखुको प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसा समर्थन मूल्य तोकेको थियो भने अहिले पनि सोहीअनुसार कायम भएको छ । उद्योगीसँग लिइने भ्याटबापतको रकममध्ये ६५ रुपियाँप्रति क्विन्टल सरकारले किसानलाई उपलब्ध गराउने उल्लेख भएको भए पनि किसानले सो रकम अझै पाउन नसकेको बताएका छन् ।
यसअघि भ्याटबाहेकको ४६५ रुपियाँ ९२ पैसा किसानलाई उपलब्ध गराउने उद्योगी र सरकारबीच सहमति भए पनि अहिलेसम्म किसानले सो रकम नपाएको अध्यक्ष यादवले बताउनुभयो । गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments