संकटमा चामल कारखाना

बर्दिया — धान खरिद–बिक्री नहुँदा यस वर्ष राजापुरमा रहेको खाद्य संस्थानअन्तर्गत आधुनिक धान चामल कारखाना संकटमा परेको छ । यसपालि धानको मूल्य बजारको भन्दा कम तोकिएले किसानले कारखानालाई धान बिक्री गर्न मानेनन् ।

कारखाना संकटमा परेको हो । यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य थियो । कम मूल्य निर्धारण गरिएकाले करिब तीन सय क्विन्टल मात्र खरिद भएको छ ।

अब खरिद–बिक्रीको सम्भावना छैन । बर्सेनि कारखानाको मेसिन चलाउनुपर्छ । मेसिन चलाउन पनि धानको आवश्यकता छ । यस वर्ष खरिद बिक्री नभएपछि इन्जिन बिग्रिने जोखिम बढेको छ । हरेक वर्ष कारखाना सञ्चालन गर्न ५ हजार क्विन्टल धानको आवश्यकता छ । कारखाना सञ्चालन गर्न नसके इन्जिन बिग्रने चामल कारखानाका प्रमुख अनिल श्रेष्ठले बताए । कारखाना जोखिममा पर्ने भएकाले बाहिरबाट भए पनि धान खरिद गरी सञ्चालन गर्ने तयारीमा संस्थान लागेको छ । यसका लागि केन्द्रले स्वीकृत दिनुपर्छ ।

खाद्य संस्थानले दोस्रो पटक मूल्य निर्धारण गरेको थियो । त्यही पनि तीन सय क्विन्टल मात्र धान खरिद भएको छ । गत मंसिर ९ मा सरकारले धानको समर्थन मूल्य तोकेलगत्तै व्यवसायीले यहाँ बढाएका थिए । व्यवसायीले बढाएको एक सातापछि संस्थानले पनि दोस्रो पटक बढायो ।

धानको मूल्य बढाउन नपाउँदै व्यवसायीले प्रतिक्विन्टल १ सय ४० देखि २ सय रुपैयाँसम्म वृद्धि गरे । त्यसपछि खाद्य संस्थानमा खरिद बिक्री ठप्प भएको हो । करिब दुई सय क्विन्टल धान खाद्य संस्थानले कैलालीबाट खरिद गरी ल्याएको हो । सरकारले पहिलोपटक मोटो धान प्रतिक्विन्टल २ हजार ३ सय ३१ रुपैयाँ, मकवानपुर २ हजार ५ सय ५० र मध्यम २ हजार ४ सय ६० रुपैयाँ समर्थन मूल्य तोकेको थियो । समर्थन मूल्य तोकेलगत्तै एक सय रुपैयाँ बढीमा खरिद गरेका थिए । किसान संस्थानमा नआएर व्यवसायीकहाँ जान थालेपछि पुन: बढाएको प्रमुख श्रेष्ठले बताए ।

संस्थानले पुन: कायम गरेको मोटो र मकवानपुर धान २ हजार ५ सय रुपैयाँ कायम गरेको थियो । संस्थानले पुन: मूल्य कायम गरेपछि व्यवसायीले बढाएर २ हजार ६ सय ४० देखि २ हजार ७ सय रुपैयाँसम्ममा खरिद–बिक्री गरेका छन् । राजापुर बजारमा रहेको करिब डेढ दर्जन गल्ला पसलमा दैनिक सयौं बयलगाडामा किसान धान बिक्रीका लागि आउने गर्छन् । समयमा संस्थानले मूल्य निर्धारण नगर्दा किसानले व्यवसायीलाई सस्तोमाधान बेच्न बाध्य भएकाथिए ।

धान खरिद नभएपछि छिमेकी जिल्ला कैलालीको टीकापुरबाट २ सय १ क्विन्टल खरिद गरिएको संस्थानका प्रबन्धक श्रेष्ठले बताए । ‘यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य संस्थानको रहेकामा जम्मा तीन सय क्विन्टल खरिद भयो,’ उनले भने, ‘पुन: धानको मूल्य बढाउन सकिँदैन ।’ राजापुरमा चिउरा र भुजाका लागि उपयुक्त मानिने मकवानपुर धान झन्डै ८० प्रतिशत उत्पादन हुने गर्छ ।

केन्द्रले यस वर्ष मकवानपुर धानको पनि मूल्य तोकेको छ । गत वर्ष मकवानपुर धानको मूल्य तोकेको थिएन । राजापुर नगरपालिका ४ का वडाध्यक्ष रमण रेग्मीले गहुँ र तोरी छर्ने समयमा किसानलाई रकमको आवश्यकता हुने भएकाले संस्थानले कात्तिकमा मूल्य तोक्नुपर्ने बताए । ‘कात्तिकको पहिलो नभए दोस्रो साता मूल्य तोकेको भए संस्थानमा किसानले धान खरिद–बिक्री गर्थे,’ उनले भने, ‘सरकार किसानमुखी नभएका कारण यस्तो अवस्था आएको हो ।’कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments