धान खरीदमा लक्ष्य प्राप्ति

वीरगञ्ज,धान खरीद सम्बन्धमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको नेपाल खाद्य संस्थान वीरगञ्जले भने लक्ष्य प्राप्त गर्न सफल भएको छ । संस्थान वीरगञ्जले चालू आर्थिक वर्ष २०७५÷७६ मा रु ६ करोड चार लाख ७९ हजार १०० मूल्य बराबरको २४ हजार ५८४ क्विन्टल धान खरीद गरी लक्ष्य प्राप्त गरेको हो ।

सङ्घीय सरकारले यसवर्ष २५ हजार क्विन्टल मध्यम खालको सोना मन्सुली धान खरीद गर्न लक्ष्य दिएकोमा सो शाखाले २४ हजार ५८५ क्विन्टल धान खरीद गरी करीब शतप्रतिशत लक्ष्य प्राप्त गर्न सफल भएको छ । सङ्घीय सरकारले धान खरीद गर्ने समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ४६० तोकेकोमा संस्थानले नगदमै धान किन्न थालेपछि सो लक्ष्य प्राप्त भएको शाखा प्रमुख अम्बिकाप्रसाद घिमिरेले बताउनुभयो ।

यसैगरी संस्थानले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा ३० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य रहेकोमा रु ८० करोड ५५ लाख मूल्य बराबरको ३० हजार क्विन्टल सोना मन्सुली र जिरा मन्सुली धान खरीद गरी लक्ष्य प्राप्त गरेको थियो । उक्त खरीद गरिएको धानमध्ये सोना मन्सुली धान २० हजार क्विन्टल र जिरा मन्सुली धान १० हजार क्विन्टल खरीद गरिएको थियो ।

अहिले संस्थानसँग ६९० क्विन्टल जापानी चामलसहित ११ हजार २२९ क्विन्टल चामल मौज्दात अवस्थामा रहेको छ । जसमध्ये सबै जापानी चामल संस्थानले केन्द्रको निर्णय अनुसार विराटनगर पठाउने तयारीमा रहेको छ । संस्थानले धान खरीद गरी उत्पादन गरेको चामल पर्सा, मकवानपुर, रौतहट तथा भरतपुर कारागारले माग गरेअनुसार पठाउने गरेको छ । संस्थानसँग रहेको पाँच गोदाममा अहिले ५० हजार क्विन्टल धान, चामल भण्डारण गरिएको अवस्थामा रहेको छ ।

लक्ष्य अनुसारको धान खरीद गरिसकेको संस्थानले अहिले धान खरीद गर्न बन्द गरेपछि निजी क्षेत्रका व्यापारीले मनोमानी ढङ्गबाट धान खरीद गर्ने गरेकाले किसान मर्कामा परेका छन् । शुरुमा संस्थानले सरकारी समर्थन मूल्यमा नगदमै किसानसँग धान खरीद गर्न थालेपछि किसान अत्यधिक लाभान्वित हुन थालेका थिए तर संस्थानले धान खरीद गर्न बन्द गरेपछि निजी क्षेत्रका गल्ला व्यापारी मनोमानी ढङ्गले धान खरीद गर्ने गरेकाले किसान मर्कामा परेको उनीहरुको गुनासो छ ।

पर्सा जिल्लामा यसवर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरी दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?