सप्रेको गहुँ खेतमै नष्ट

सिमरा — बाराको फेटा गाउँपालिका ६ पुरैनियाका जाकिर मियाँ ठकुराईको गहुँ बाली यसपालि राम्ररी सप्रेको थियो । अघिलो वर्षको तुलनामा उत्पादन बढ्नेमा ढुक्क थिए ।

२/४ दिनभिक्रै काट्ने तयारीमा रहेका बेला ८ कट्ठामा लगाएको गहुँ शत्तिशाली हुरी र असिनाले सखाप बनाइदिएको छ । वर्षभरि रोटी खान पुग्ने गहुँबाली खेतमै नष्ट भएपछि उनी पीडामा परेका छन् । भुमरीसहितको हुरीले घरमा राखिएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा उडाएको छ भने किराना पसल भत्काइदिएको छ । ‘घरमा भएको अन्नपात पनि पुरियो,’ उनले भने, ‘बाली भित्र्याउने बेलामा खेतमै गहुँ नष्ट भयो । न घरमा अन्न छ, न खेतमा ।’

सेनाले बनाइदिएको टहरामा बस्दै आएका उनको परिवार दाताको भरमा छाक टारिरहेको छ ।

पुरैनियाकै समिम अहमदले दुई बिघा खेत गहुँ रोप्न हुन्डा (भाडामा) लगाएका थिए । हुन्डामा खेती गरेकाको बाली नष्ट भएपछि उनीहरूको लगानीसँगै आफ्नो जग्गाको भाडासमेत डुबेको उनले बताए । ‘यसपालि गहुँ बाली धेरै राम्रो थियो,’ उनले भने, ‘उत्पादन बढ्नेमा ढुक्क थिएँ ।’

हुरीले किसानको सपना चकनाचुर बनाएको छ । खेतमा सप्रेको बालीको आधारमा आम्दानी–खर्चको योजना बनाउने गर्छन् ।

हुरी र असिनाले गाउँको ४० बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको गहुँ बाली नष्ट भएको स्थानीय महम्मद गनी अन्सारीले जानकारी दिए । गाउँमा १८ वटा चौपायासमेत मरेको उनले बताए ।

हावाहुरी र असिनाले पुरैनिया, भरबलिया, गम्हरिया, परवानीपुर, तेलगाई, हर्दिया, प्रसुरामपुर, मनगढवा, धर्मनगर, फुलबरिया, भलुही, त्रिवेणी, बलिरामपुर, रामपुरवा, बगही, जमुनिया, चरमोहना, बुनियाद, रामपुरटोकनी, लिपनीमाल, चैनपुर, बहुअरी, बेनौली, सखुवाट लगायतका गाउँमा अन्न बाली नष्ट गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ ।

हावाहुरी र असिनाको कारण यस क्षेत्रमा १ हजार ५ सय ५ बिघा क्षेत्रफलमा लगाइएको गहुँ, मकै, तरकारी बाली, मुसुरो, फलफूल पूर्ण नष्ट भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले प्रकृति प्रकोपले जिल्लामा भएको कृषि, पशुलगायत क्षतिको यकिन तथ्यांक आउन नसकेको बताए ।

कृषि–पशुपालनमा ठूलो क्षति
भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र वीरगन्जको तथ्यांकअनुसार हुरीमा परी हालसम्म पर्सा र बारामा करिब ३० लाख रुपैयाँ बराबरको चौपाया तथा पशुपन्छी मरेका छन् । बाराको परवानीपुर गाउँपालिकाको चैनपुर, कलैया उपमहानगरपालिकाको भलुही भरबलिया, प्रसौनी गाउँपालिकाको खुटवा, फेटा गाउँपालिकाको पुरैनियामा चौपाया तथा पशुपन्छी मरेका छन् ।

घाइते चौपायाको उपचार तथा मरेका चौपायालाई पुर्न पशु स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको सूचना अधिकृत धनसुन्दरप्रसाद साहले बताए । पशु सेवा विभाग पशु सेवा निर्देशनालयबाट आधा दर्जन चिकित्सकको टोलीसमेत प्रभावित क्षेत्रमा आएर घाइते चौपायाको उपचार गरिरहेको उनले बताए ।

कृषि ज्ञान केन्द्र बाराले प्रभावित क्षेत्रमा भएको क्षतिको प्रारम्भिक तथ्यांक संकलन गरेको छ । जसअनुसार सबै प्रभावित क्षेत्रमा गरी १५ सय ५ बिघा खेतमा लगाएको बालीनाली पूर्ण रूपले नष्ट भएका छन् । गहुँ, मुसुरो, तरकारी बाली आदिमा क्षति भएको छ । यसबाहेक आँप, लिची, कटहर आदि फलफूलमा पनि क्षति पुगेको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments