मल नपाएर रित्तै फर्किए किसान

सिन्धुलीमाढी — सिन्धुलीमा युरिया मलको अभाव छ । मकैमा मल हाल्ने समयमै अभाव भएपछि कृषक समस्यामा परेका छन् । कृषि सामग्री कम्पनीले ७० र साल्ट ट्रेडिङले ३० प्रतिशत मल वितरण गर्दै आएका थिए । अहिले आयात नहुँदा मल अभाव भएको ती कम्पनीको दाबी छ ।

सिजनमै मल अभाव भएकाले कृषक भने समस्यामा परेका छन् । कमलामाई नगरपालिका ४ देउरालीकी मुगा तामाङले चारपटक सिन्धुलीमाढी धाउँदासमेत मल नपाएको बताइन् । ‘कृषि सामग्री कम्पनीमा जाँदा कर्मचारीले यस वर्ष मकैमा मल हाल्ने समयमा आउँदैन होला भने । साल्ट ट्रेडिङका कर्मचारीले चाहिँ २/३ दिनमा थोरै भए पनि आउँछ कि भनेका छन्,’ तामाङले भनिन् । उनले चार पटकसम्म रित्तो हात फर्किएको दुःखेसो सुनाइन् ।

कमलामाई नगरपालिका ४ ढकालगाउँ शिखरका गोविन्द आछामे पनि मल लिन पटकपटक सिन्धुलीमाढी झरे । उनले पनि मल पाएनन् । मकैमा मल हाल्न नपाएपछि यस वर्ष उत्पादन घट्ने भन्दै उनी चिन्तित छन् । ‘धान रोप्न हाम्रोमा कुलो लाग्दैन ।

आकाशेपानीकोभल छोपेर थोरैथोरै धान रोप्ने गरेका छौं । हाम्रो मुख्य बाली भनेकै मकै हो । मकै बेचेर चामल किनेर खाने गरेका थियौं । अब त मकै पनि फल्लाजस्तो छैन । हाम्रो त गाँसै काटिने भो,’ उनले भने ।

मल लिन कमलामाई नगरपालिका १२ रानीचुरीबाट तीन पटक सिन्धुलीमाढी आएका अर्का कृषक श्याम सुनारले पनि मल पाएनन् । ‘मकैमा मल हाल्ने समय घर्किन लागिसक्यो । मल नपाएका कारण अहिलेसम्म जोतेको समेत छैन,’ उनले भने, ‘एकपटक मकै गोड्यौं । अब जोत्ने बेला भएको छ । जोतेपछि मल हाल्नुपर्ने, मल पाउने छाँटकाँट छैन । त्यसैले अहिलेसम्म जोतेकै छैन ।’

साल्ट ट्रेलिङबाट मल ल्याएर बिक्री वितरण गर्दै आएका व्यापारी सुबोध अधिकारी मकै कृषकहरू दैनिक युरिया मलको खोजीमा आउने गरेको बताउँछन् । किसानको मागअनुसार कार्यालयले मल नपठाएकाले कृषकहरूलाई मल दिन नसकेको उनले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा कार्यालय सिन्धुलीका प्रमुख पूर्णराज कार्कीले भने केन्द्रले बजेट अभावले मल खरिद गर्न नसकिएको जानकारी गराएको बताए । ‘त्यसैले तत्कालै मल आउन सक्ने सम्भावना छैन,’ उनले भने, ‘वैशाख १० गतेबाटै जिल्लामा मल सकिएको हो । सिन्धुलीमा अझै ८२२ टन युरिया मलको अभाव छ ।’कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments