महँगाइले मर्का

रूपन्देही — बुटवलको दीपनगरस्थित तरकारी बजारमा किनमेल गर्न आएकी सुक्खानगरकी पवित्रा शर्मा बिहीबार अलमलमा देखिइन् । व्यापारीले अधिकांश तरकारीको भाउ बढेको बताएपछि उनले जिब्रो टोकिन् । ‘जुन तरकारीको भाउ सोधे पनि उत्तिकै महँगो छ,’ उनले भनिन्, ‘कुन किन्ने कुन ? यो महँगाइले मर्का पर्‍यो ।’

कालिकानगरकी इन्दिरा रानाले तरकारी खरिद गरेर खानै नसकिने गुनासो गरिन् । गत साता ८० रुपैयाँ प्रतिकिलो परेको टमाटर यो साता उनले एक सय रुपैयाँमा खरिद गरिन् । ४० रुपैयाँ किलोको काँक्रालाई ६० रुपैयाँ पर्‍यो । त्यस्तै काउली किलोको ६० रुपैयाँ रहेकामा ८० रुपैयाँमा बिहीबार खरिद गरेको उनले बताइन् ।

शर्मा र राना प्रतिनिधि पात्र हुन् । तरकारीको मूल्य ह्वात्तै बढेपछि उपभोक्ता मारमा परेका छन् । ‘गत साता ४० रुपैयाँ प्रतिकिलोमा टमाटर बिक्री भएकामा यो साता ६५ देखि ७० रुपैयाँसम्ममा बेचियो,’ आरके फ्रुट्स एन्ड भेजिटेबल सप्लायर्सका सञ्चालक रवि बर्नवालले भने, ‘भारतीय उत्पादन आयात गर्दा महँगै आउँछ ।’

उनले भदौ-असोजमा सल्यानको, मंसिर-पुसमा चितवनको टमाटर बजारमा आउने भए पनि हाल ८० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको बताए । भारतमा चुनाव र मुस्लिम समुदायको रोजा चलिरहेकाले उतै खपत हुने तरकारीमध्ये बचाएर नेपाल भित्र्याउँदा मूल्य बढेको उनले जनाए ।

टमाटरबाहेक थोक बजारमा भेंडे खुर्सानीमा अघिल्लो साताभन्दा १० रुपैयाँ, हरियो मटरमा २०, गाजरमा २०, हरियो धनियाँमा ५० देखि ७० रुपैयाँ, खुर्सानीमा १५ देखि २५, फर्सीमा ७ देखि १०, सिमीमा ५ रुपैयाँ बढेको छ । यसैगरी अन्य तरकारीमा पनि ५ देखि १० रुपैयाँसम्म बढेको बुटवल कृषि उपज थोक बजारबाट प्राप्त तथ्यांकमा उल्लेख छ ।

भारतबाट आयातित तरकारी भएकाले नेपाली उत्पादनको तुलनामा मूल्य अलि महँगो भएको व्यापारीको भनाइ छ । ‘थोकमा बिक्री गर्दा ३ रुपैयाँसम्म मात्र नाफा बच्छ,’ बर्नवालले भने, ‘तरकारीको व्यापारमा खुद्रा व्यापारीलाई नै फाइदा छ ।’ बुटवल थोक बजारमा स्थानीयबाहेक कपिलवस्तुको गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर, परासीको त्रिवेणी, पहाडी जिल्ला गुल्मी, अर्घाखाँचीबाट समेत व्यापारी तरकारी खरिदका लागि आउने गर्छन् ।

खुद्रा व्यापारी सविता कोइरालाले ६५ रुपैयाँमा ल्याएको टमाटर ९० देखि १ सय रुपैयाँमा बेच्दा र अन्य तरकारीमा ५ देखि १० रुपैयाँ वृद्धि गर्दा नाफा भएजस्तो देखिने मात्र बताइन् । ‘एक क्यारेटमा ३ किलोजति कुहिएको हुन्छ,’ उनले भनिन्, ‘ढुवानी र कुहिएको फाल्दा नाफा के नै हुन्छ र ?’ दिनभरिको घाम र चिच्याइको बाध्यता ग्राहकले नबुझ्ने उनले सुनाइन् ।

गत वर्षको यही समयको तथ्यांकले अहिले तरकारीको दररेटमा वृद्धि भएको नदेखाउने बुटवल कृषि उपज थोक बजारका अध्यक्ष कलाधर पन्थीले बताए । ‘गर्मी बढेसँगै तरकारीमा आवश्यक पानी कम हुने र उत्पादन कम हुने गर्छ,’ उनले भने, ‘खानयोग्य हुन लागेका तरकारीसमेत पानीको अभावमा बिगि्रने भएकाले मूल्य वृद्धि भएजस्तो देखिएको हो ।’

भारतीय बजारमा मूल्य वृद्धि भएर आउँदासमेत बजारको माग नघटेको तर ग्राहकलाई खुद्रामा खरिद गर्दा समस्या परेको उनले बताए । मौसम यस्तै रहिरहे यो अवस्था अझै १५ दिनसम्म रहने उनको भनाइ छ । ‘कृषकबाट उपभोक्तासम्म तरकारी या अन्य उत्पादन पुग्दा ५ लेयर पार गर्नुपर्छ,’ पन्थीले भने, ‘यस आधारमा कृषक पनि मारमा देखिन्छन् ।’

राज्यले नै कृषकको उत्पादनको प्रारम्भिक मूल्य नतोक्दासम्म यो समस्या रहिरहने उनले बताए । उत्पादनलाई बजारसम्म ल्याउँदा बिचौलियाले फाइदा लिने गुनासो आइरहने बताउँदै उनले समस्या घटाउन बुटवल कृषि उपजजस्तै अन्य स्थानमा समेत व्यवस्थित संकलन केन्द्र र थोक बजार सञ्चालन गरी साना बजारबाट ठूला बजारमा जाने लिंक तयार गरी बिचौलियाको मार्जिन घटाउन सकिने सुझाव दिए ।कान्तिपुर

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *