बीउ नउम्रिएपछि ठगिए किसान

बर्दिया — बाँकेको खजुरा गाउँपालिकामा हाइब्रिड धानको बीउ नउम्रिँदा किसान मर्कामा परेका छन् । ६४४४ जातको बीउ नउम्रिएको हो । ४६० रुपैयाँ किलोका दरले नेपालगन्जको धम्बोझीचोक नजिकको एग्रोभेटबाट खरिद गरेको बीउ नउम्रिएपछि किसानले क्षतिपूर्ति माग गरेका छन् ।

२० दिनअघि किसानले बीउ छरेका थिए । बीउ नउम्रिएर मरेको छ । बीउकै कारण किसानको श्रम र रकम खेर गएको छ । ‘नेपालगन्जबाट किनेर ल्याएको धान हो । राम्रो उत्पादन हुने लोभमा महँगो मूल्य हालियो,’ खजुरा गाउँपालिका–७ उढरापुरचोकका किसान मलिक मोहम्मदले कान्तिपुरसँग भने, ‘५ हजारमा किनेर ल्याएको बीउ उम्रिएन । पैसा र मिहिनेत दुवै खेर गयो ।’

रोपाइँ गर्ने समयमा बीउ नउम्रिएपछि किसान चिन्तित छन् । बीउ छरेको खेतमा घाँस उम्रिएको छ । ‘खत्तम भयो हजुर । बीउ रोप्ने समय आइसक्यो,’ मोहम्मदले भने, ‘अब बीउ खोज्न कहाँ जाने ? अब राखेको बीउ उम्रिन २०/२२ दिन लाग्छ । रोपाइँ कहिले गर्ने ?’

यहाँका दर्जनौं किसानले छरेको बीउ उम्रिएको छैन । क्षतिपूर्ति माग गर्न किसान नेपालगन्जस्थित एग्रोभेटमा पुग्ने गरेका छन् । बिक्रेताले बीउ उत्पादन कम्पनीसँग क्षतिपूर्ति दिलाउने जवाफ फर्काउने गरेको किसानहरूले बताए । ‘बीउबारे बिक्रेतालाई जानकारी गराइसकेका छौं । छिट्टै हेर्न आउँछु भन्छन्, अहिलेसम्म आएनन्,’ किसान इस्लाम खाँले भने, ‘कुन कम्पनीको धान हो, त्यो हामीलाई थाहा भएन । जसले बिक्री गरेको हो, हामीलाई त उसैले क्षतिपूर्ति दिनुपर्छ ।’
उनका अनुसार नेपालगन्जको धम्बोझी चोक नजिकैको मुनाल एग्रोभेट सेन्टरबाट बीउ किनिएको हो । बीउबारे गुनासो गरेपछि बिक्री गर्ने व्यक्ति सम्पर्कमै आउन नचाहेको बताए ।

उढरापुरका अधिकांश किसानले छरेको बीउ बिग्रिएको छ । उनीहरूले ट्युबेलबाट सिँचाइ गरी बीउ राखेका थिए । अर्का किसान अब्दुल्ला खाँले धानको बीउ, सिँचाइ, खनजोतबापत लागेको क्षतिपूर्ति बीउ बिक्रेताले तिर्नुपर्ने बताए । ‘बीउ, मल खेर गयो । सिँचाइ, जोताइ सबथोक बेकार भो,’ उनले भने, ‘नउम्रिने बीउ उत्पादन गर्ने कम्पनीलाई कारबाही हुन आवश्यक छ ।’

भारतसँग जोडिएको सीमावर्ती गाउँका किसानले बढी उत्पादन हुने प्रलोभनमा भारतबाट बीउ ल्याउने गरेका छन् । कतिपय बीउलाई सरकारले अनुमति दिएको छैन । १२० दिनमा तयार हुने अलि ढिलो प्रजातिको धानका ब्याड राख्न उपयुक्त हुन्छ । सवसाँवा–१, सुर्वणसाँवा–१ र आइआर–६४ जातको धानको बीउ राख्न कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ । समयमा बीउ राख्न नसके धान उत्पादन कम हुने भएकाले किसानहरू हतारिएका हुन् ।

बाँकेमा ५२ हजार २ सय ३८ हेक्टर जग्गामा खेती हुँदै आएको छ । तीमध्ये १५ हजार हेक्टर जग्गामा मात्रै सिँचाइ सुविधा छ । जिल्लामा आकाशे पानीको भरमा खेती हुँदै आएको छ । सुक्खा नलागे बाँकेमा करिब १ लाख ३८ हजार ७ सय टन धान उत्पादन हुँदै आएको छ ।

पानी अभावमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुराले सुक्खा धान सिफारिस गर्दै आएको छ । सुख्खा धान १, २, राधा ४, सवसाँवालगायतका धान किसानका लागि सिफारिस गरिएको छ । यहाँ राधा चार, जानकी, मन्सुली, सावित्री र मकवानपुर जातका धानको खेती हुने गरेको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments