नाकामै बिग्रियो ३ करोडको फलफूल

काठमाडौँ — सरकारले तरकारी र फलफूल आयात गर्दा सम्बन्धित भन्सार विन्दुमा कडाइ गरेपछि एक सातामा करिब ३ करोड रुपैयाँको फलफूल बिग्रिएको छ । भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षणको प्रक्रिया नपुर्‍याउँदै निकासी पैठारीसम्बन्धी आदेश कार्यान्वयन गर्दा ती फलफूल बिग्रिएका हुन् ।

नेपाल फलफूल थोक व्यवसायी संघका अनुसार अन्य फलफूल पनि बिग्रिन थालेपछि सस्तो मूल्यमा नजिकैको भारतीय बजारमा बिक्री सुरु गरिएको छ । ‘विषादी परीक्षण स्वागतयोग्य नै थियो । बिनातयारी फलफूल तथा तरकारीको मालवाहक ट्रक रोकियो,’ संघका कोषाध्यक्ष काशीराम सापकोटाले भने, ‘जानकारी नै नगराई लागू गर्दा नेपाली व्यवसायीको करोडौंको नोक्सान भएको छ । प्रत्येक नाकामा क्वारेन्टाइन मेसिन राखेको भए हुन्थ्यो ।’

भारतमा अत्यधिक गर्मी छ । विषादी परीक्षणको नाममा भन्सार विन्दुमै ४/५ दिन रोकिँदा ३ करोड रुपैयाँभन्दा बढीको नोक्सान भइसकेको संघको दाबी छ । ‘फलफूल बोकेका गाडी पाँच दिन भन्सार विन्दुमै रह्यो । गर्मीकै कारण भैरहवा, नेपालगन्ज र कृष्णनगरमा ३० गाडीको करिब ३ करोडको फलफूल बिग्रिएको छ । पूर्वी नाकाहरूमा भएको नोक्सानको विवरण निकाल्दै छौं,’ सापकोटाले भने, ‘गर्मीले अन्य फलफूलमा पनि हानि हुने देखेपछि करिब १५ गाडी नजिकैको भारतीय बजारमा बिक्री गरेका छौं ।’ आँप, केरा, मेवा बोकेका गाडी बढी रोकिएका छन् ।

सरकारले तयारीबिनै भन्सारमा रोकेपछि उनीहरू स्वयंले कालीमाटी तरकारी बजारमा रहेको विषादी परीक्षण इकाईमा नमुना परीक्षण सुरु गरेका छन् । केहीले सर्लाहीमा परीक्षण गरिरहेका छन् । बुटवलमा प्रयोगशाला छ । परीक्षण गर्ने जनशिक्त भने नभएको व्यवसायीहरूको गुनासो छ । करिब दुई सय किलोमिटरभन्दा पर गएर परीक्षण गरेर पुनः ल्याउँदा दुई दिनभन्दा बढी लाग्ने गरेको व्यवसायीहरूको गुनासो छ ।

केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजिवदाश राजभण्डारीले कर्मचारीको अभाव भए पनि परीक्षणको काम भइरहेको दाबी गरे । ‘बिर्तामोड, सर्लाही, काठमाडौं, पोखरा, नेपालगन्ज र अत्तरियाका प्रयोगशालाबाट भ्याएसम्म परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘बुटवलको हकमा कर्मचारी अभाव छ । त्यहाँ छिट्टै व्यवस्थापन गर्छौं ।’

उनले कालीमाटीमा दैनिक ८० देखि ९० नमुना परीक्षण भइरहेको दाबी गरे । मुलुकभित्र उत्पादन नभएपछि अधिकांश फलफूल भारतबाटै आयात हुन्छ । आँप, केरा, मेवा, अनारलगायत फलफूलमा भारतमै निर्भर हुनुपर्ने बाध्यता छ ।

साताअघि दैनिक २० गाडी भित्रिए पनि अहिले करिब चार गाडीमा सीमित रहेको संघले जनाएको छ । व्यवसायीका अनुसार अहिले आँपको सिजन हो । पर्याप्त उत्पादन नहुँदा ७५ प्रतिशत आँप भारतबाटै आयात भइरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार व्यापार घाटा बढ्न थालेपछि त्यसलाई निरुत्साहित गर्न पनि आयातमा केही कडाइ गर्न खोजिएको हो । ‘व्यवसायीसँग छलफल गरेर कार्यान्वयन गर्दा काम नै हुन्न,’ ती अधिकारीले भने, ‘त्यसैले द्रुत मार्गको अवलम्बन गरेका छौं ।’ आयात कडाइले स्वदेशी उत्पादन वृद्धिसँगै किसानले पनि मूल्य पाउने उनले दाबी गरे ।

मूल्य ६९ प्रतिशतले बढ्यो
फलफूल तथा तरकारीको आपूर्तिमा कमी भएपछि एक साताकै बजारभाउ ६९ प्रतिशतसम्म बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार प्रतिकिलो १४५ रुपैयाँ पर्ने मौसमको मूल्य ६८.९७ प्रतिशतले बढेर २४५ रुपैयाँ पुगेको छ ।

भारतबाट आयात हुने मेवा, केरा, आँप, कागती, स्याउ, प्याज, मुलालगायत तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । समितिको तथ्यांकअनुसार असार ६ गते ९५ रुपैयाँ पर्ने मेवा असार १३ गते १२५ रुपैयाँ पुगेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले आयातमा केही कमी भएकाले सामान्य बढेको बताए । ‘केही दिनयता बजारमा कम भित्रिएको छ । त्यसैले मूल्य बढेको देखिन्छ,’ उनले भने, ‘नाकामा छिट्टै सुविधा भए सहज हुन्थ्यो ।’

समितिका अनुसार तरकारी बजारमा भारतबाट मात्रै वार्षिक ४५ प्रतिशत भित्रिन्छ । अहिले सिजन भएकाले दैनिक करिब ३५ प्रतिशत आउनुपर्ने हो । २५ प्रतिशत मात्रै भित्रिएको उनले बताए ।

किलोको ८५ रुपैयाँ पर्ने आँपको मूल्य बढेर १२० रुपैयाँ, एक दर्जनको १०५ रुपैयाँ पर्ने केराको मूल्य ११५ रुपैयाँ, ३४५ रुपैयाँ पर्ने स्याउ (फुजी) बढेर ३५५ रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ ।

जानकारका अनुसार समितिबाट खुद्रा पसलसम्म आइपुग्दा यी वस्तुहरूको मूल्य थप बढी पर्छ । बजार मूल्य नियन्त्रण तथा अनुगमन गर्ने दायित्व आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो । फलफूल तथा तरकारीको मूल्य अकासिँदा पनि यी क्षेत्रमा अनुगमन हुन सकेको छैन ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले आन्तरिक उत्पादन नहुँदा केही बढ्नु स्वाभाविक भएको बताए । ‘फलफूलको आन्तरिक उत्पादन छैन । त्यसैले फलफूलमा बढेको छ । बढ्नु स्वाभाविक नै हो,’ उनले भने, ‘स्वदेशी उत्पादनमा पनि केही बढ्नुको कारण माग बढेर हो । मिलेमतोमा बढ्नु भएन । त्यो पत्ता लगाउँछौं ।’

तथ्यांकअनुसार आयातितसँगै स्वदेशमै उत्पादन भएको तरकारीको मूल्य पनि बढेको छ । सेतो मुलाको मूल्य ५५ बाट बढेर ७५ रुपैयाँ, ५५ रुपैयाँ पर्ने भान्टा लाम्चो बढेर ६५ रुपैयाँ, ६५ रुपैयाँ पर्ने तिते करेला ७५ रुपैयाँ, २०५ रुपैयाँ पर्ने लसुन हरियो २२५ रुपैयाँ पुगेको छ । यस्तै काँक्रो ८५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ, खुर्सानी हरियो ८५ बाट बढेर ९५ रुपैयाँ, गाजर ८५ रुपैयाँबाट बढेर १०५ रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments