प्रदेश ५ मा ८५ प्रतिशत खेत बाँझै रोपाइँ निराशाजनक : धान उत्पादन घट्ने चिन्ता

बुटवल, धान लहलहाउने बेला असारको अन्तिम साता पनि प्रदेश ५ का अधिकांश खेत भने बाँझै छन् । कतै खेत चिरा परेर फुटेको छ, कतै बीउ नै सुकेको छ । धान उत्पादनमा अब्बल प्रदेशका रूपमा रहेको प्रदेश ५ मा अहिलेसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । ८५ प्रतिशत खेत बाँझै छ । गत वर्ष यस अवधिसम्म ३० प्रतिशत रोपाइँ भएको थियो । समयमा वर्षा नहुँदा गत वर्षभन्दा आधा कम क्षेत्रमा रोपाइँ भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । तत्काल राम्रोसँग पानी नपरे यस वर्ष रोपाइँसँगै धान उत्पादनमै नकारात्मक प्रभाव पर्न सक्ने मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले बताउनुभयो । ‘अहिलेसम्म बढी रोपाइँ भएको क्षेत्र बर्दिया हो,’ उहाँले भन्नुभयो, ‘भरपर्दो सिँचाइ सुविधा नहुँदा धान धेरै उत्पादन हुने जिल्ला रूपन्देहीमा भने निकै कम रोपाइँ भएको छ ।’ यसले उत्पादनमा ५ प्रतिशत घट्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रदेश ५ को ५१ प्रतिशत कृषियोग्य जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । बाँकी जमिनमा खेती गर्न आकाशे पानीकै भर पर्नुपर्छ । प्रदेश ५ मा रोपाइँको खास सिजन असारदेखि साउन पहिलो साता हो । तर वर्षा सुरु भएको छैन । वर्षा सुरु नै भए पनि यो वर्ष विगतमा जस्तो धेरै पानी पर्ने छाँट छैन । सुक्खा मौसमका कारण धान रोप्न नपाएका किसानलाई राहतका लागि के गर्ने मन्त्रालयले साउन लागेपछि तत्कालीन योजना बनाउने सचिव अधिकारीले बताउनुभयो । प्रदेश ५ का १२ वटै जिल्लामा धान खेती हुने गरेको छ । उत्पादनमा सबैभन्दा धेरै योगदान पु¥याउने जिल्ला भने रूपन्देही, बर्दिया, कपिलवस्तु र दाङ हुन् । प्रदेश ५ मा धानको औसत उत्पादकत्व राष्ट्रिय औसतभन्दा पनि धेरै अर्थात ३.४६ मेट्रिक टन प्रति हेक्टर छ । राष्ट्रिय औषत भने ३.३७ मेट्रिक टन प्रतिहेक्टर छ । यस प्रदेशमा कुल जमिनको ३४.२ प्रतिशत अर्थात ६५५.८२ हजार हेक्टर जमिन कृषियोग्य छ । उक्त मिनमध्ये अघिल्लो वर्ष ३२७.८ हजार हेक्टरमा धान खेती भएको थियो । यसबाट ११३५.३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments