आलु चिप्स उद्योग सञ्चालन

डडेल्धुरा, डडेल्धुरा जिल्ला सदरमुकाममा आलु चिप्स उद्योग सञ्चालन भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोनको पुरक अनुदान सहयोगमा सो उद्योग सञ्चालनमा भएको हो ।

उत्पादन बढ्दै गएसँगै आलु सुपरजोन बनाइएको डडेल्धुरामा आलुको खपतका लागी चिप्स उद्योग सञ्चालन गरिएको परियोजनाले जनाएको छ ।

परियोजनाको आठ लाख बराबरका उपकरण सहयोगमा उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज पाण्डेयले बताउनुभयो ।

आइतबार आलु चिप्स उत्पादन परीक्षण सार्वजनिक गर्दै सञ्चालक पाण्डेयले उद्योग सञ्चालन गरी आलु चिप्स बजारमा ल्याएको जानकारी दिनुभयो ।

सञ्चालक पाण्डेयले जिएस नामक उद्योगमार्फत यसअघि गोलभेँडा, ‘मिक्स सस’ र नमकिन बजारमा ल्याएको बताउँदै केही उपकरण आलु चिप्समा पनि काम लाग्ने भएकाले चिप्स पनि बजारमा ल्याएको जानकारी दिनुभयो ।

उद्योगका लागी आवश्यक भवन र स्थान पर्याप्त रहेको बताइएको छ ।

उद्योगमा छ जनाले रोजगारी पाएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published.