आलु जोगाउन भण्डारण गृह

गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी, भण्डारवनमा आलु भण्डारण गृह निर्माण गरिएको छ । बीउ जोगाउन र उपभोग्य आलु सुरक्षित राख्न सो गृह बनाइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका र कृषि ज्ञान केन्द्र पर्वतको आर्थिक सहयोगमा गृह निर्माण भएको हो । नगरपालिकाको रु दुई लाख, केन्द्रको रु पाँच लाख र एक लाख १४ हजार बराबरको जनश्रमदानमा गृह बनेको निर्माण समितिका अध्यक्ष राजेन्द्र कुँवरले बताउनुभयो ।

गृह निर्माणले आलुखेतीको प्रवद्र्धनसँगै बजारीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । एकतले गृहमा १० टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ । भण्डारण गृह बनेपछि आलु किसान खुशी छन् । घरमा राख्दा कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन् ।

खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ । संरचना बनाउँदा आलुका लागि तापक्रम अनुकूल हुने गरी निर्माण गरिन्छ । दुदिलाभाटीको भण्डारवन, ज्यामिरे, टोड्केलगायतका ठाउँमा बढी आलुखेती हुन्छ । “आलु खनेपछि लामो समयसम्म जोगाउनै गाह्रो थियो”, स्थानीय किसान हिराबहादुर किसानले भन्नुभयो, “अब किसानलाई सहज हुने भयो ।”

दुदिलाभाटीलाई आलुको ‘पकेट’ क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । अहिले ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । “आलुको व्यवसायीकरणमा पनि भण्डारण गृहले सघाउँछ, यसबाट किसानले फाइदा लिन सक्नुपर्छ”, समितिका अध्यक्ष कुँवरले भन्नुभयो । जिल्लाको ताराखोला, ढोरपाटन, दमेक, धम्जालगायतका क्षेत्र आलुका लागि ‘पकेट’ मानिन्छन् ।गोरखापत्र

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments