देशभर ६४ प्रतिशत मात्र रोपाइँ

काठमाडौँ, कृषि तथा पशुपक्षी मन्त्रालयले देशभरि ६३.७९ प्रतिशत रोपाइँ भएको तथ्याङ्क सार्वजनिक गरेको छ । छ दिनमा २३.३३ प्रतिशतले रोपाइँमा वृद्धि भएको छ । खेतमा पानीको सतह कम हुन थालेपछि किसानले धमाधम रोपाइँ सुरु गरेका छन् ।

असार ३१ गते कृषि मन्त्रालयले दिएको तथ्याङ्कअनुसार ४०.४६ प्रतिशत मात्र रोपाइँ भएको थियो । गत वर्ष सोही अवधिमा ७७.७४ प्रतिशत रोपाइँ भइसकेको थियो । तराई मधेसमा ६०.२ प्रतिशत मात्र रोपाइँ भएको छ । यो गत वर्षको भन्दा करिब १७ दशमलव ३५ प्रतिशत कम हो । खासगरी बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित प्रदेश २ का आठ जिल्लामा सबैभन्दा कम ५० प्रतिशत भूभागमा मात्र रोपाइँ भएको छ । अघिल्लो वर्षको यही अवधिमा भने त्यस क्षेत्रमा ८९.३८ प्रतिशत रोपाइँ भइसकेको थियो । प्रदेश २ मा तीन लाख ६५ हजार ६१५ हेक्टर जमिनमध्ये एक लाख ८४ हजार ५५९ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

धनुषामा ३७, महोत्तरीमा ३५, सर्लाहीमा ४५, पर्सामा ७०, बारामा ६०, रौतहटमा ४०, सप्तरीमा ६५ र सिरहामा ५० प्रतिशत रोपाइँ भएको छ । साउन १५ गतेसम्म रोपाइँमा वृद्धि हुने मन्त्रालयले जनाएको छ । प्रदेश ३ मा पनि गत वर्षको भन्दा कम रोपाइँ भएको छ । यो प्रदेश अन्तर्गतका जिल्लामा ६९.१८ प्रतिशत मात्र रोपाइँ भएको छ । यहाँका जिल्लामा ६० प्रतिशतदेखि ९५ प्रतिशतसम्म रोपाइँ भएको छ । यो प्रदेशमा भने गत वर्षभन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको तथ्याङ्क मन्त्रालयले दिएको छ । यो प्रदेशको ललितपुरमा गतवर्ष ८० प्रतिशत रोपाइँ भएको थियो भने यो वर्ष घटेर ३० प्रतिशतमा मात्र सीमित भएको छ । गण्डकी प्रदेशमा ७९ प्रतिशत रोपाइँ भएको छ । गत साल साउन ६ गतेसम्म ८७.३३ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा धान खेती नै हुँदैन । गण्डकी प्रदेशको बाग्लुङमा ९८ प्रतिशत रोपाइँ भइसकेको छ भने पर्वतमा ९०, कास्कीमा ७६, गोरखामा ७८, म्याग्दीमा ७८, स्याङ्जामा ८०, तनहुँ र लमजुङमा ७८ प्रतिशत रोपाइँ भएको छ ।

प्रदेश ५ मा ६३.४८ प्रतिशत रोपाइँ भएको छ । अर्घाखाँची र रुकुम पूर्वमा ९१, गुल्मी र पाल्पामा ८९, रोल्पामा ९०.९९ प्रतिशत रोपाइँ भएको छ । प्युठानमा ८२ प्रतिशत, नवलपरासीमा ६३.८४, प्रदेश ५ को तराईको जिल्ला कपिलवस्तुमा ३८ प्रतिशत मात्र रोपाइँ भएको छ । कपिलवस्तु कृषिमन्त्री चक्रपाणि खनालको गृहजिल्ला हो । रुपन्देहीमा ५२, बाँकेमा ७०, बर्दियामा ८७.८५, दाङमा ६४.७७ प्रतिशत रोपाइँ भएको छ ।

सातवटा प्रदेशमध्ये सबभन्दा बढी कर्णाली प्रदेशमा ९०.१३ प्रतिशत रोपाइँ भएको छ । यस क्षेत्रमा गत वर्ष ७७.४४ प्रतिशत मात्र रोपाइँ भएको थियो । जुम्ला, कालीकोट, डोल्पा, हुम्ला, सुर्खेत, दैलेख, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा ९५ प्रतिशत रोपाइँ भएको छ । मुगुमा ९७, सुर्खेतमा ८० प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेशमा ८६.६२ प्रतिशत रोपाइँ भइसकेको छ । गतवर्ष ९५.६९ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टरमा रोपाइँ हुन्छ । प्रदेश १ मा ५६.१३ प्रतिशत रोपाइँ भइसकेको छ । यो गत वर्षको भन्दा करिब १५.८३ प्रतिशत कम हो । यो प्रदेश अन्तर्गतको जिल्लाहरूमा ३५ देखि ७५ प्रतिशतसम्म रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments