खसी व्यापारीलाई जरिवाना

दसैंका लागि खसी-बोका किन्दै सरकार

काठमाडौँ — मासुको मूल्य अस्वाभाविक रूपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीस्थित खसी बजारका ६ होलसेल व्यापारीलाई जरिवाना गरेको छ । व्यापारीले बिल जारी नगरी जिउँदो खसीको प्रतिकिलो ५ सय ६० देखि ६ सय ८० रुपैयाँसम्ममा बिक्री गरिरहेको पाएपछि कारबाही गरेको हो ।

विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार ती व्यवसायीले दर्ताबिना स्टल सञ्चालन गरिरहेका थिए । ‘पसल दर्ता थिएन । खरिद बिक्रीको कुनै काजगात देखाउन नसकेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार आर्थिक जरिवाना गरेका छौं,’ उनले भने । सरकारले क्वारेन्टाइनमा कडाइ गरेपछि खसीबोकाको आयात हातै घटेको छ ।

भारतलगायत मुलुकबाट आयातित खसीबोकाको भन्सार विन्दुमा क्वारेन्टाइन परीक्षण हुन थालेपछि आयात घटेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा ४६.९ प्रतिशत आयात घटेको छ । त्यसको वहानामा व्यवसायीहरूले मनोमानी मूल्य असुल्दै आएका छन् । खसीको मासु किलोको १२ देखि १३ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

खसीबाहेक कुखुराको मूल्य पनि अस्वाभाविक रूपमा बढेको छ । पोल्ट्री तथा मासु व्यवसायीले बाढी पहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन् । नेपाल माछा मासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च, भ्याली कोल्ड स्टोरका अनुसार १० देखि १५ प्रतिशतले मूल्य बढेको छ । मूल्य बढेपछि विभागले व्यवसायीका छाता संगठनहरूसँग पनि छलफल गरेको थियो । त्यसक्रममा मूल्यसूची, खरिदबिक्री बिल, व्यवसायी दर्ता गर्न निर्देशन दिएको थियो । सोहीअनुसार बिहीबार विभागले कलंकी खसीबजारमा अनुगमन गरेको हो । ‘खसी बजारका ९ वटा होलसेल पसलमा अनुगमन भएको थियो,’ अगुगमनमै सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यस क्रममा ६ वटा पसललाई जनही ५ हजारका दरले जरिवाना गराएका छौं ।’

उनका अनुसार व्यवसायीले हचुवाको भरमा मासु बिक्री गर्दै आएका छन् । मूल्यसूची पनि थिएन । व्यवसायीहरू भने आयात कम भएकाले मूल्य बढेको बताउँछन् । किसानबाट खरिद गर्दा बिल दिन सम्भव नभएको उनीहरूको दाबी छ । कलंकीस्थित खसी बजारमा ४३ वटा व्यवसायी छन् । यहाँबाट उपत्यकाको मागको ४० प्रतिशत मासु आपूर्ति हुँदै आएको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments