खसी बोकाको मूल्य नबढ्ने !

भरतपुर, यो वर्ष दशैँमा खसी बोकाको मासुको मूल्य नबढ्ने भएको छ । खसी बोका मासु व्यवसायी सङ्घ चितवनले संस्थागत निर्णय नै गरेर दशैँदेखि छटसम्म खसी बोकाको मासुको मूल्य यथावत् राख्ने भएको हो ।

“हरेक वर्ष चाडबाड आएपछि खसी बोकाको मासुको मूल्य वृद्धि हुन्छ भन्ने उपभोक्ताको गुनासोलाई ध्यानमा राखेर नै हामीले यो वर्ष मूल्य वृद्धि नगर्ने निर्णय गरेका हौँ’’ –सङ्घका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले भन्नुभयो ।

विगतमा हरेक वर्ष दशैँका बेला प्रतिकिलो सय रुपियाँका हाराहारीमा खसी बोकाको मासुमा मूल्य वृद्धि हुने गर्दथ्यो । अहिले चितवनमा बोसो नभएको एक हजार र बोसोसहितको नौ सय रुपियाँ प्रतिकिलो खसी बोकाको मासु रहेको छ । यो मूल्य एक वर्षअघि दशैँअघि यह िबेला तय भएको मूल्य हो । त्यो बेला सय रुपियाँ प्रतिकिलो मूल्य वृद्धि गरिएको थियो । “सङ्घको निर्णय कसैले अटेर गरेर जथाभावी मूल्य वृद्धि गरे अनुगमन गरेर व्यवसायीलाई कारबाही गरिने छ” –अध्यक्ष तिमिल्सिनाको चेतावनी छ ।

दशैँ नजिकिँदै गर्दा बजारको मूल्य अकाशिएकै बेला दशैँमा सबैभन्दा बढी खपत हुने मासुको मूल्य यथावत् राख्ने निर्णयले उपभोक्ताहरूमा भने केही राहत मिलेको छ । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील प्रकाश सिक्देल खसी बोकाको मासुको मूल्य यथावत् हुने निर्णय स्वागत योग्य भएको बताउनुहुन्छ । “निर्णय कार्यान्वनमा उपभोक्ता स्वयं पनि सचेत हुनुपर्छ –उहाँले भन्नुभयो ।

यस वर्षको दशैँका लागि चितवनमा २५ हजार खसी बोका र १२ हजार राँगा बध (काट्न)का लागि तयारी अवस्थामा रहेको अनुमान छ । भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र भरतपुरले दिएको तथ्याङ्कअनुसार सप्तमीदेखि नवमीसम्मको चार दिनमा जिल्लामा उल्लेखित मात्रामा खसी बोका र राँगा बध गरिने गरिन्छ । यसरी काटिने मध्ये व्यावसायिक रूपमा काटिने करिब २० प्रतिशत खसी बोका भारतीय हुन् । भारतीय खसी बोका आयतमा रोक लागे पनि फाट्टफुट्ट आइरहेको उहाँले बताउनुभयो ।

“कतिपय मठमन्दिरमा बध गरिन्छ कतिपय घरघरमै काटेर खाइन्छ”, केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रामचन्द्र आचार्यले भन्नुभयो, “दशैँ नेपालीको मासु खाने चाड भएकाले पनि यो बेला बढी खसी बोका र राँगा बध गरिन्छ ।”नेपालमा हरेक वर्ष ११ लाखका हाराहारीमा खसी बोका काटिन्छन् । बाख्रा पालक किसान महासङ्घका नेता तथा जगतपुर बाख्रा फर्मका सञ्चालक योगेन्द्र खड्काले गएको वर्ष नेपालमा ११ लाख खसी बोका काटिएको जानकारी दिनुभयो ।

“पहिला पहिला नेपालमा खपत हुने खसी बोका भारत र चीनबाट पनि आयात हुन्थे तर यो वर्षदेखि नेपालमै आफ्नो उत्पादनले धान्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो । अघिल्ला वर्षहरूमा नेपालमा खपत हुने आधाभन्दा बढी खसी बोका चीन र भारतबाट आयातित हुन्थे । “अब दिपायल, सुर्खेत धनगढीमा उत्पादन भएका खसी बोका काठमाडाँै ल्याउनुपर्छ” –उहाँले आफ्नो उत्पादनले बजार नपाएको गुनासो गर्दै भन्नुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments