दशैंका लागि च्याङ्ग्रा खोज्न हिमाली जिल्ला

(सुर्खेत) — दसैँ नजिकिएसँगै भेडाच्याङ्ग्रा खरिदका लागि व्यापारी हिमाली जिल्लातिर उक्लिन थालेका छन् । दसैं–तिहारमा मासुको खपत बढी हुने भएकाले भेंडाच्याङ्ग्रा खरिद गर्न व्यापारीहरू कर्णालीका मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिमको बाजुरा, डडेल्धुरासम्म पनि पुग्न थालेका हुन् ।

सुर्खेतका मासु व्यवसायी जनक थापाले भेडा–च्याङ्ग्रा खरिदका लागि आफ्ना कर्मचारीलाई कर्णालीका हिमाली जिल्लामा पठाइसकिएको बताए । ‘दसैं–तिहारका बेला खसीसँगै भेडा–च्याङ्ग्राको मासुको माग बढ्छ,’ उनले भने, ‘सबै मासु व्यवसायीले भेडाच्याङ्ग्रा खरिदका लागि व्यापारीलाई हिमाली जिल्लातिर पठाइसकेका छन् ।’ पोखरा र काठमाडौंका व्यापारीले पनि कर्णालीकै व्यापारीसँग सम्पर्क गरेर भेडाच्याङ्ग्रा खरिद गर्ने उनले बताए ।
मासु व्यवसायी संघका पूर्वजिल्ला अध्यक्षसमेत रहेका थापाले अबको एक साताभित्र सुर्खेतमा भेडा–च्याङ्ग्रा भित्रिने जानकारी दिए । उनका अनुसार सुर्खेतमा पहिलो लटमा करिब ३ सयसम्म भेडा–च्याङ्ग्रा आउनेछन् ।

दसैं–तिहारको समयमा खपत हुने मासुका लागि खसी भने पश्चिम सुर्खेतको लगाम बेतान, दैलेख, जाजरकोटलगायत जिल्लाबाट आउने गरेका छन् । कालीकोटका व्यापारी कौशल शाहीले आफूहरू भेडाच्याङ्ग्रा लिनका लागि मुगु, डोल्पा मात्र नभई बाजुरासम्म पुग्ने गरेको बताए । एउटा भेंडा वा च्याङ्ग्राको मूल्य १० हजारदेखि २० हजारसम्म पर्ने उनको भनाइ छ । ‘खसी र च्याङ्ग्रा हेरेर मूल्य फरकफरक हुन्छ,’ उनले भने, ‘पोहोरभन्दा अहिले भाउ बढेको छ ।’

चेकपोस्टमा सास्ती

व्यवसायीले खरिद गरेका भेंडा– च्याङ्ग्रा सुर्खेत ल्याउँदा चेकपोस्टमा सास्ती खेप्नुपरेको बताएका छन् । मासु व्यवसायी थापाले हरेक चेकपोस्टमा पुलिसले आफूहरूसँग पैसा माग्ने गरेको गुनासो गरे । ‘पुलिसले हैरान गर्छ,’ उनले भने, ‘सुर्खेतमै पनि बाबियाचौरबाट वीरेन्द्रनगर ल्याउँदा पनि चेकपोस्टमा पुलिसले सताउँछन् ।’

कर्णालीभित्रै ढुवानी गर्दा बीच बाटोमा पशु क्वारेन्टाइनको व्यवस्था छैन । प्रत्येक स्थानीय तहमा रहेका पशु सेवा क्लिनिकमार्फत सिफारिस दिने व्यवस्था मिलाउनुपर्ने व्यवसायीको माग छ । अर्का व्यवसायी कौशल शाहीले सिफारिस बनाएर लैजाँदा पनि पुलिसले पैसा माग्ने गरेको बताए । उनले ट्रकमा भेंडाच्याङ्ग्रा ढुवानी गर्न नदिँदा पनि समस्या भएको उल्लेख गरे ।कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments