लकडाउनका कारण कुखुराको दाना अभावले पोल्ट्री फर्महरु मारमा

दाना उत्पादन

सप्तरी :लकडाउनका कारण कुखुराको दाना अभावले गर्दा सप्तरी जिल्लामा सञ्चालित पोल्ट्री फर्महरु मारमा परेकम छन ।

सवारी साधन नचलेका कारण दाना आपुर्ति हुन नसक्दा पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेको हो । लाखौंको लगानीमा सञ्चालित फर्महरुमा विगत दुई साता यता लकडाउनका कारण दाना नआए पछि कुखुरा व्यवसायी मारमा परेका छन । दाना नै नपाएपछि कुखुरा तथा चल्लाहरुलाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरेको महादेवा गाउँपालिका–१ का कुखुरापालक कृषक वौवा लाल यादवले बताउनु भयो ।

दाना अभावले कुखुराहरुको वजन बढ्नुको साटो घट्दै गएकोले तरकारीको भाउमा बेच्न थालिएको छ । ऋण लिएर कुखुरा व्यवसाय शुरु गरेकोमा लकडाउनले गर्दा लगानी समेत डुब्ने अवस्था आएको उहाँको दुःखेसो छ । कुखुरा तथा चल्लाकालागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाईए कुखुरा तथा चल्लाहरुलाई राहत हुने उहाँको भनाइ छ ।

‘उत्साहका साथ कुखुरापालन शुरु गरेकोमा लामो लकडाउनले सबै चल्ला वर्वाद भएको छ’ कुखुरापालक यादवले भन्नु भयो ‘अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउन समस्या छ, गहुँ र पानी खुवाएर कुखुराहरु सहज रुपमा बाँच्ने अवस्था छैन ।’ सरकारले कुखुरापालनमा लागेकाहरुलाई प्रोत्साहन स्वरुप राहतको व्यवस्थापन गरिदिए सरकारसगं आग्रह समेत गरेका छन ।
त्यस्तै विष्णुपुर गाउँपालिका वडा नम्वर–१ का कुखुराव्यवसायी मनोज कुमार यादवका अनुसार ‘एक त कुखुराहरु दाना अभावले वजन बढिरहेको छैन भने अर्कोतर्फ विक्रीकालागि तयारी अवस्थामा रहेका कुखुराहरु सुक्नै लागेको छ’ । उहाँले कोरोना भाइरसको त्रासका कारण उपभोक्ताहरु कुखुरा खाने उपभोक्ताहरु घटेकोले सागकै भाउमा विक्री गर्नुपर्ने अवस्था आएको वताउनु भयो ।’

सप्तरी जिल्लामा चार सय भन्दा बढी पोल्ट्री फार्महरु सञ्चालनमा रहेको छ । कुखुरापालक कृषकहरुको समस्याप्रति सम्वन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालाहरुलाई गम्भीरतापूर्वक लिन व्यवसायीहरुले मागं गरेका छन ।
देवराम प्रसाद यादव
गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments