उखुको भुक्तानी नगरी, चिनी बेच्न खोजेपछि किसानको अवरोध

चिनी बरामद

सर्लाही:सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगमा स्टक रहेको चिनी आइतवार राती सुटुक्क बजार पठाउन खोज्दा किसानले रोकेका छन् ।

आफूहरुको लाखौँ भुक्तानि बाँकी राखेर उद्योगमा गोदाम गरी राखिएको चिनी बजार पठाउन लागिएको भन्दै किसानले अवरोध गरेका हुन् । राती उद्योगबाट चिनी लोड गरेर निस्कँदै गरेका केही ट्रक किसानहरुले धनकौल र बसबरिया गाउँपालिकाको विभिन्न स्थानमा रोकेका छन् । धनकौलस्थित चिनी उद्योग परिसरमा सोमवार बिहान ठूलो सङ्ख्यामा किसान जम्मा भइरहेका छन् । अन्नपूर्णले अघिल्ला वर्षहरुमै उत्पादन गरेको चिनी किसानको अवरोधका कारण अझै बजार लान सकेको छैन् ।

किसानको विगत तीन÷चार वर्षदेखिको उखुको पैसा भुक्तानि नगरेको धनकौल चिनी मिलको चिनी पटक–पटक बजार लाने प्रयास भइरहेको छ । तर किसानहरुले भने पहिले आफूहरुको बाँकी रहेको पैसा भुक्तानि दिनुपर्ने र त्यसपछि मात्रै चिनी लान दिने बताउँदै आएका छन् । केही महिनाअघि स्थानीय प्रशासनकै रोहबरमा चिनी बजार पठाउने प्रयास गरेपनि किसानले चर्को बिरोध जनाएका थिए ।

सरकारले पटक–पटक ताकेता गर्दा पनि अन्नपूर्णले किसानको अझै लाखौँ रुपियाँ भुक्तानि गर्न बाँकी छ । पुरानो पैसा तिर्न नसकेरै धनकौल चिनी मिल यस वर्ष सञ्चालन हुन सकेन् । सञ्चालनमा आएका इन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह भने उखु क्रसिङ सकेर बन्द भइसकेका छन् ।
जनार्जन खत्री
गोरखापत्र अनलाइन

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments