४२ दिनमा चार अर्बको तरकारी आयात

नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमा सुकिरहेको छ, सडिरहेको छ । तर, भारतबाट निर्वाध आएको तरकारी सीधै भान्सामा पुगिरहेको छ । नेपाली किसानको उत्पादन उठाउन नमान्ने बिचौलिया व्यापारीले फोनकै भरमा भारतबाट तरकारी मगाएर नाफा कमाइरहेका छन् । नेपाली किसानको पसिना खेतमै सुक्दा सरकार मूकदर्शक छ ।

लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । यस्तो अवस्थामा मुलुकभित्रै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो । सामान्य अवस्थामा हुने तरकारी खपतमा स्वदेशी र आयातीत तरकारीको हिस्सा आधा–आधा हुन्छ । तर, अहिले तरकारीको उपभोग घटे पनि आयात घटेको छैन, मागको सबैजसो हिस्सा आयातीत तरकारीले कब्जा गरेपछि स्वदेशी किसान आफ्नै तरकारीबारीमा डोजर चलाउन बाध्य बनेका छन् ।

लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् ।

चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए । तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ । नेपाली किसानले उत्पादन गरेको तरकारी भने बारीमा सुकिरहेको र सडिरहेको नयाँ पत्रिकामा खबर छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments