करेलामा अज्ञात रोगले किसान मर्कामा

धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँट र आसपास क्षेत्रको करेलामा अज्ञात रोग लागेको छ । ७२ परिवार किसानले दुई सय ६ रोपनीमा गरेको करेला खेतीमा पहेँलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका छन् ।

किसानले आफ्नोतर्फबाट गर्न सक्ने र एग्रोभेटले भित्र्याएका कडा विषादी प्रयोग गर्दा पनि रोकथाम नभएपछि गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई देखाएको आग्रामहेश संयुक्त कृषि फर्मका सञ्चालक केशव रुपाखेतीले बताए । ‘टिप्ने बेला भएको तरकारी लकडाउनले बारीमै कुहिँदैछ, अर्कोतिर फूल फुल्ने बेला भएको करेलामा रोग देखियो,’ रुपाखेतीले भने, ‘कस्तो रोग भनेर पत्ता लगाउन बाली रोग प्रयोगशाला हरिहर भवन पठाइएको छ ।’

गाउँमै केही गर्नुपर्छ भन्ने अठोट लिएर स्थानीय ६ युवाले सञ्चालन गरेको उक्त फर्ममा यो वर्ष २६ रोपनीमा करेला खेती छ । गत वर्ष ३४ हजार किलो करेला बेचेर १८ लाख आम्दानी भएको थियो । वार्षिक तीन लाखमा जग्गा भाडामा लिएर एक लाख लगानीमा करेला लगाएको फर्मका अध्यक्ष वतराज बिडारीले बताए । बजारमा बिक्री गर्नुपर्ने बेला करेलाको झाल धमाधम पहेँलो भएर मर्न थालेपछि लगानी नै डुब्ने चिन्तामा किसान छन् ।

हरेक बोटबाट यतिखेर ५–६ किलो करेला उत्पादन भइसकेको हुन्थ्यो । तर सबै करेलामा रोग लागेपछि किसान चिन्तामा छन् । हरेक वर्ष थाँक्रा फेरिरहनुपर्ने अवस्थाबाट मुक्त हुन फर्मले फलामको स्थायी पोलमा दुई लाख ५० हजार खर्चेको छ । दुई रोपनी जग्गामा करेला खेती गरेर बर्खे खर्च चलाउने सुरमा रहेका बलराम सुवेदीले ३० हजार खर्च गरिसकेका थिए ।

थाक्रे गाउँपालिकाले वडा नं ११ मा १० ग्राम दरको एक सय ५८ पाकेट पाली जातको करेलाको बीउ वितरण गरेको गाउँपालिकाकी कृषि प्राविधिक राममाया रानामगरले बताइन् । रोगका कारण किसानको यस वर्ष करिब २१ लाख लगानी डुबेको छ ।

करेलासँगै घिरौंला पनि रोगले मर्न थालेको छ । फर्मलाई संघीय सरकारको तरकारी ब्लक कार्यक्रम र बागमती प्रदेश सरकारको नमूना फर्म कार्यक्रमको सहयोग रहेको कृषि ज्ञानकेन्द्रका अधिकृत कमलराज शर्माले बताए ।

कृषि प्राविधिकले तरकारीमा पाउडरीमिल्लु नामक रोगको प्रकोपले यस्तो भएको बताए । अत्याधिक वर्षाका कारण रोगको संक्रमण बढ्ने अनुमान प्राविधिकको छ । कृषि पेसालाई व्यावसायिक बनाउन गाउँपालिकाले यस क्षेत्रका केही किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्दै आए पनि बाली बिमा र किसानको समस्या समाधानका लागि काम गर्न नसकेको किसानको गुनासो छ ।नागरिक

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments