तरकारी सस्तिँदा किसान मर्कामा

कैलाली :गत वर्ष यही मौसममा धनगढी उपमहानगरपालिका–१७, पत्थरीका किसान चेतराम चौधरीलाई तरकारी बेच्न भ्याइनभ्याई थियो। बारीमा लटरम्म फलेका टमाटर, खुर्सानी, काँक्रा, खर्बुजाले उनले सोचेभन्दा राम्रो मूल्य पाएको थियो। गत वर्षको आम्दानी देखेका उनी यसपालि पनि हौसिए र १२ कट्ठा जमिनमा तरकारी लगाए। तरकारी राम्रै फल्यो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो।

गत वर्ष बारीबाटै ५० रुपैयाँ किलोमा गोलभेंडा बेचेको सम्झँदै उनले भने, ‘यसपालि १५ रुपैयाँ किलोमा पनि जान छाड्यो।’ धनगढी बजारबाट उनको गाउँ पुग्न करिब नौ किलोमिटर छ। त्यो बाटो तय गरेर तरकारी किन्न व्यवसायी गाउँमा पुग्न नसक्दा बोटमै कुहिन थालेको उनले बताए।

प्रहरीको कडा चेकजाँचका कारण उनको बारीसम्म व्यवसायी आउनै मान्दैनन्। ‘धेरै व्यवसायीलाई सस्तोमै तरकारी लैजान भनें,’ उनले भने, ‘प्रहरीको कडा चेकजाँचका कारण व्यवसायी आउनै मान्दैनन्।’

गत वर्ष उनले काँक्रा २५ देखि ३० रुपैयाँ किलोमा बेचेका थिए। यसपालि १५ रुपैयाँ पनि पाएनन्। पोहोर ८० रुपैयाँ किलोमा बारीबाटै बेचेको खुर्सानीले यसपालि ५० रुपैयाँ पनि पाएन।

लालराम चौधरीको पनि काँक्रा र खुर्सानी खेती छ। काँक्राले अघिल्लो वर्ष राम्रो बजार पाएको भन्दै हौसिएका उनी यसपालि निराश छन्।

काँक्रा बारीमै पहेँलो हुन थालेको उनले जानकारी दिए। ‘पहेँलो काँक्रा बिक्री नहुने भएकाले गाई, गोरुलाई खुवाउन थालेको छु,’ उनले भने, ‘सस्तोमा बेच्न खोज्दा पनि कसैले लगेन।’

यहाँका सबै जसो व्यावसायिक किसान उब्जनीले बजार नपाउँदा चिन्तित छन्। अगुवा किसान रमेश भाट सरकारले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका किसानको तरकारी बिक्ने वातावरण बनाइदिनुपर्ने बताउँछन्।

आफूहरुले व्यावसायिक किसानका समस्या समाधान गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर तरकारी किसानलाई सहज रुपमा गाउँघर र टोलसम्म बिक्री गर्ने वातावरण मिलाउन आग्रह गरेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले बताए। ‘हामीले किसानलाई सहज होस् भनेर प्रशासनबाट पासको व्यवस्था पनि गर्न आग्रह गरेका छौं,’ उनले भने। आजको नागरिक दैनिकमा यो खबर छ।

पुष्पराज जोशी

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments