बागमती प्रदेशमा कृषि र रोजगारीमा जोड

हेटौंडा:

बागमती प्रदेशको बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । प्रदेशसभामा प्रस्तुत प्रस्तावअनुसार आगामी आर्थिक वर्षमा प्रदेश सरकारले कृषि, रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनेछ ।

कोरोनाको महामारीबाट सिर्जित विषम परिस्थितिका कारण विकास प्रक्रिया अवरोध भएकाले त्यसलाई सम्बोधन गर्ने गरी आगामी बजेटको प्राथमिकता निर्धारण गरिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बताए । कोरोना भाइरसको महामारीपछि विदेशिएका युवाहरु फर्कने र उनीहरुलाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहित गर्ने सरकारको योजना छ । बजेटको सिद्धान्त तथा प्राथमिकताले ‘मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउछु’ भन्ने नारा दिएको छ । प्रदेश सरकारले कृषि उत्पादनको समर्थन मूल्य पनि तोक्ने जनाएको छ । कृषि उत्पादन अघि नै कृषिमा न्यूनतम समर्थन मूल्य तोकिने मन्त्री ढुङ्गेलले बताए । उनले कृषकको उत्पादन बचत भए सरकार आफैंले खरिद गर्ने नीति अवलम्बन गरिने पनि सुनाए ।

अबको कृषिको सोच अनुदानमुखी नभई लगानी र लागत साझेदारीमा गरिने पनि जनाइएको छ । “बैंक तथा वित्तीय संस्थाहरुमा सहकार्य गरी युवा उद्यमीमुखी कार्यक्रमहरु सञ्चालन गरिनेछ । काठमाडौं उपत्यका वरिपरी राम्रो पशुपालनको सम्भावना भएकाले पशुजन्य उत्पादन र बजारीकरणमा प्राथमिकता दिइनेछ ।” मन्त्री ढुंगेलले प्रदेशसभामा पेश गरेको बजेटको प्राथमिकता र सिन्द्धान्तमा भनिएको छ । कृषि बजार सूचना केन्द्रको स्थापना, नश्ल सुधार, घाँसे बाली कार्यक्रमलगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुने पनि जनाइएको छ ।

लागत सहभागिताका कारण समपूरक अनुदान प्रभावकारी भएकाले समपुरक अनुदानलाई बजेटमा प्राथमिकता दिइने पनि बताइएको छ । स्थानीय तहहरुबाट पहिले नै योजनाहरु माग गर्ने मन्त्री ढुंगेलले बताए । स्वास्थ्य प्रणालीको सुधारसहित दीगो र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरुको सुदृढीकरण गर्दै सार्वजनिक स्वास्थ्य प्रणालीलाई विशेष ध्यान दिएर बजेट बनाइने पनि बताइएको छ ।

प्रदेशका अस्पतालहरुमा यन्त्र उपकरण तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था गर्न प्राथमिकताका साथ काम गर्ने प्रदेश सरकारले प्रतिवद्धता जनाएको छ । राजधानी स्थायी भइसकेपछि मन्त्रालय र प्रादेशिक कार्यालयहरुको भवन निर्माणमा पनि आगामी वर्षको बजेटले प्राथमिकता दिने मन्त्री ढुंगेलले बताए । त्यस्तै भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा पनि आगामी वर्ष प्रदेश सरकारले विशेष बजेट छुट्याउने जनाएको छ ।मन्त्री ढुंगेलले प्रदेशसभामा पेश गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि सोमबारबाटै छलफल सुरु भएको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments